जीतपुरसिमरा उपमहानगरमा दर्ता हुन थाले उपभोक्ता समिति


eShilalekh

१ पुष २०७८, बिहीबार २१:४९

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाले विकास निर्माणको लागि गठन हुने उपभोक्ता समितिलाई जिम्मेवार र पारदर्शी बनाउन दर्ता प्रक्रिया सुरु गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विकास निर्माणका लागि स्थानिय स्तरमा गठन हुने उपभोक्ता समितिलाई स्थायी बनाउन परिपत्र गरेपछि उपमहानगरले प्रक्रिया थालेको हो ।

प्रक्रिया सुरु भएसंगै कार्यालयमा उपभोक्ता समिति दर्ता गराउन आउनेको संख्या बढ्न थालेको छ । यसअघि वडाको सिफारिसका आधारमा गठन हुने उपभोक्ता समिति योजना सम्पन्न भएपश्चात निष्क्रिय हुने गरेका थिए । तर मन्त्रालयको परिपत्रले भने अब गठन हुने उपभोक्ता समिति योजना सम्पन्न भएपश्चात पनि सक्रिय हुनुपर्नेछ ।

उपमहानगरपालिकामा दर्ता भएका उपभोक्ता समितिले नियमित लेखापरिक्षण गराउनुपर्ने हुन्छ । दर्ता हुने उपभोक्ता समितिले उपमहानगरको कार्यालयले दिने सिफारिसका आधारमा आन्तरिक राजश्व कार्यालयबाट अस्थायी लेखा नम्बर लिनुपर्नेछ । अस्थायी लेखा नम्बर लिएका उपभोक्ता समितिले मात्रै विकास निर्माणका काम गर्न पाउनेछन् ।

उपमहानगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख राजेन्द्रकुमार कार्कीले उपभोक्तालाई समितिलाई जिम्मेवार र पारदर्शी बनाउन मन्त्रालयले परिपत्र गरेपछि दर्ता गराउन थालिएको बताए । महालेखापरिक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनका आधारमा मन्त्रालयले देशका सबै स्थानिय तहलाई परिपत्र गरेको कार्कीले जानकारी दिए ।

‘देशका सवै स्थानिय तहलाई परिपत्र गरिएको छ । हामीले कार्यान्यवन गर्न सुरु गरेका हौ’ कार्कीले भने ‘सुरुमा असहज र झन्झटिलो लाग्न सक्छ । तर यो निर्णयले समग्ररुपमा उपमहानगरपालिका र नगरवासीको हित गर्नेछ ।’

स्थानिय सरकारको रुपमा रहेको उपमहानगरपालिकाले उपभोक्ता समिति गठन संचालन ऐन अनुसार दर्ता गर्ने र उनिहरुको नियमन गर्ने कार्कीको भनाई थियो । दर्ता भएका उपभोक्ता समितिलाई स्थायी बनाउन उपमहानगरपालिकाले आवश्यक ऐन परिमार्जन गर्दै लैजान सक्ने कार्कीले बताए । ‘स्थानिय सरकार भएकाले आफ्नै ऐन छ । त्यसका लागि उपमहानगरपालिकाको कार्यपालिका र सभाले थप ऐन परिमार्जन गर्दै लैजान सक्नेछ’ कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्