पूर्वराजाको मधेस भ्रमणः वीरगन्जमा नागरिक अभिनन्दन, गढीमाईसहित तीन मन्दिरमा पूजा अर्चना


eShilalekh

२६ पुष २०८०, बिहीबार १८:३४

सिमराः चार दिन अघि भैरहवाबाट सिमरा आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई वीरगन्जमा नागरिक अभिनन्दन गरिने भएको छ । माघ १३ गते वीरगन्जस्थित लाल बंगलामा हुने कार्यक्रममा पूर्वराजा शाहलाई अभिनन्दन गरिने भएको हो ।

पुस २३ गते परिवारसहित सिमरा आएका पूर्वराजा यतिबेला प्रभु निवासमा बसिरहेका छन् । सिमरा आएको चार दिनपछि पूर्वराजाको मधेस भ्रमणको कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यक्रम अनुसार नागरिक अभिनन्दन अघि पूर्वराजाले बारा, रौतहट र सर्लाही जिल्लाका मन्दिरमा पुगेर पूजा अर्चना गर्नेछन् । पूर्वराजाको भ्रमणका लागि गठन गरिएको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका अनुसार पुस २८ गते पूर्वराजा सर्लाही बरथहवास्थित मुक्तेश्वर मन्दिर पुग्नेछन् ।

यसैगरी पूर्वराजाले माघ २ गते रौतहट शिवनगरस्थित शिवमन्दिर र माघ ४ गते बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका महासचिव हिराबहादर चन्दले जानकारी दिएका छन् । चन्दका अनुसार पूर्वराजा शाहको माघ १५ गतेसम्मको कार्यतालिका बनिसकेको छ ।

नागरिक अभिनन्दन र पूजा अर्चनाको औपचारिक कार्यक्रमसंगै पूर्वराजाले सिमरामा अनौपचारिक भेटघाट जारी राख्नेछन् । यसबाहेक पूर्वराजाले हेटौंडामा हुने कार्यक्रममा समेत सहभागिता जनाउन सक्नेछन् । महासचिव चन्दले हेटौंडाको विषयमा छलफल भईरहेपनि टुंगो भने नलागेको बताए ।

प्रतिक्रिया दिनुहोस्