‘सार्पसुटर’को मुद्धा मिलाईदिने भन्दै रकम ठगेको आरोपमा एक पक्राउ


eShilalekh

१ माघ २०८०, सोमबार ११:११

सिमराः कलैयाका प्रिसिन्पल रुपेश स्वर्णकार हत्या प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका भारतीय ‘सार्पसुटर’ सुजितकुमार सिंहको मुद्धा मिलाईदिने भन्दै परिवारसंग रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका १ का २३ वर्षीय श्यामबाबु साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साहले प्रहरी नियन्त्रणमा रहेका सिंहको बुवासंग प्रहरी, वकिल र अदालतमा मुद्धा मिलाईने भन्दै १६ लाख रकम माग गरेका थिए । जसमध्ये एक लाख ९२ हजार रकम लिएको भन्दै सिंहका बुवा जयमंगलले दिएको उजुरीका आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो ।

साहलाई ठगी तथा अपराधिक विश्वासघात सम्बन्धी मुद्धामा अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारको हत्याको मुख्य सुटर रहेको भन्दै प्रहरीले सिंहलाई पुस १० गते गोली हानेर पक्राउ गरेको थियो । बिश्रामपुरबाट पक्राउ परेका सिंहको अहिले कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

प्रिन्सिपल स्वर्णकारको कार्तिक १३ गते कलैयामा गोली प्रहार गरी हत्या गरिएको थियो । स्वर्णकार हत्या आरोपमा जिल्ला अदालत बाराले पुस २४ गते राधा गुप्ता, कौशल किशोर यादव, बिगु साह, अरुण यादव, प्रविण साह र सन्तोष प्रसादलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

घटनाको मुख्य सुटर रहेको बताउँदै आएको प्रहरीले गोली लागेर उपचार भईरहेका कारण सिंहलाई अदालतमा उपस्थित गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्