मुकुन्द खनाल स्मृति प्रतिष्ठानद्धारा निर्मित भवन हस्तान्तरण
सिमराः शैक्षिक शहीदको रुपमा चिनिने स्व. मुकुन्दप्रसाद खनालको स्मृतिमा निर्मित प्राध्यापक संघको भवन विहीवार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानद्धारा प्राध्यापक संघका लागि निर्माण गरिएको भवन हस्तान्तरण गरिएको हो ।
प्रतिष्ठानले ठाकुरराम क्याम्पसको दोस्रो तल्लामा संघका लागि भवन निर्माण गरेको हो । मुकुन्दप्रसाद खनालको स्मृति दिवसका अवसरमा प्रतिष्ठानले भवनको उद्घाटन गर्दै हस्तान्तरण गरेको हो । भवनको उद्घाटन ठाकुरराम बहुमुखी दाता परिवारका संजय कुमार तथा शशी रंजन कलवारले गरेका थिए ।
सो अवसरमा प्रतिष्ठानले अवकाश प्राप्त प्राध्यापकहरुलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा डा. हरेराम यादव, कर्मचारी संघका अध्यक्ष किशोरी चौधरी, बार एशोसिएसनका अध्यक्ष कमल मोहन पोखरेल, पूर्व क्याम्पस प्रमुख प्रा. डा. महेन्द्र गुप्ता, केदारप्रसाद साह, डा. उमेश चौरसीया, अवधेशकुमार झा, प्रकाश थारु प्रतिष्ठानका अध्यक्ष प्रकाश थारु, वरिष्ठ दन्त डा. मनोज उपाध्याय, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले मन्तव्य राख्दै खनालले शैक्षिक क्षेत्रका लागि गरेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा उच्च अदालत विराटनगरकी न्यायाधीश ममता खनाल, वरिष्ठ अधिवक्ता सुजित पोखरेल, अधिवक्ता मनु खनाल, शैलेश रेग्मी, पदमप्रसाद सुवेदी, मधेश विश्व विधालयका उपकुलपति दीपक शाक्य, प्राध्यापक संघका सभापती डा. प्रमोदकुमार कुश्वाहा, ठाकुरराम बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख अनीलकुमार रमन, प्रतिष्ठानका संस्थापक सल्लाहकार प्रकाश उपाध्याय, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्यायलगायतको उपस्थिती थियो ।
खनाल स्मृति प्रतिष्ठानका सभापती मुना खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव लालबाबु सिंह गरेका थिए । कार्यक्रममा पूर्व सभापति शत्रुधन यादवले स्वागत मन्तब्य राखेका थिए ।
शैक्षिक अगुवाका रुपमा रहेका खनालको करिब डेढ दशकअघि पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक बसमा आगजनी हुँदा मृत्यु भएको थियो । उक्त घटनामा १९ जनाले ज्यान गुमाएका थिए ।