नेरामावि बकुलियाले उचाल्यो ग्रासरुट फूटवलको उपाधी


eShilalekh

३ पुष २०७८, शनिबार १९:२७

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका स्तरिय अन्तरविद्यालय ग्रासरुट फूटवल प्रतियोगिताको उपाधी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बकुलियाले जितेको छ ।

सिमरा रंगशालामा शनिवार सम्पन्न फाईनल भिडन्तमा लोटस एकेडेमी, सिमरालाई १–० ले पराजित गर्दै बकुलियाले उपाधी उचालेको हो । बकुलियाको जीतमा श्याम मण्डलले विजयी गोल गरे ।

खेलको १०औं मिनेटमा मण्डलले गरेको गोल नै निर्णायक बनेको थियो । बकुलियाविरुद्ध पाएको केही राम्रो अवसर चुकाउन पुग्दा लोटसले प्रतियोगिताको उपविजेतामा सिमित हुन पुग्यो ।

उपाधी विजेता बकुलियाले नगद २० हजार र उपविजेता लोटसले १० हजार प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल, जिल्ला फूटवल संघका बरिष्ठ उपाध्यक्ष रामचन्द्र लामा, प्रतियोगिता प्रायोजक प्राणनाथ हार्डवेयरका संचालक ईश्वर श्रेष्ठ, सहप्रायोजक युआर गोल्ड प्रिमियम मसला चियाकी संचालक रिता कंडेल, आयोजक ग्रासरुट फाउण्डेशनका अध्यक्ष शंकर थापा, प्रतियोगिता संयोजक सोनु क्षेत्रीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बकुलियाका एनुन्हाल मियाँ घोषित भए । उनले पाँच हजार हात पारे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक लोटसका विक्रम रोयले हात पार्द उत्कृष्ट डिफेन्स लोटसकै प्रदीप पण्डित घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता लोटसकै आकाश मोक्तान घोषित भए । उनले प्रतियोगिता अवधी भरी आठ गोल गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट मिडफिल्ड बकुलियाका अजित चौधरी र उत्कृष्ट प्रशिक्षक बकुलियाकै घनश्याम चौधरी घोषित भए । विधागततर्फ उत्कृष्ट भएका खेलाडी र प्रशिक्षकले जनही दुई हजार प्राप्त गरे । मंसीर १६ गतेदेखी सुरु भएको प्रतियोगितामा उपमहानगरपालिका भित्रका २४ वटा विद्यालयको सहभागिता रहेको थियो ।

यसअघि प्रतियोगिताको फाईनल खेलको उद्घाटन नगर प्रमुख डा. पौडेलले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख डा. पौडेलले उपमहानगरपालिकाभित्रको खेलकुद गतिविधिलाई उपमहानगरपालिकाको कार्यालयले सहयोग गर्दै आएको बताए ।

उदघाटन सत्रमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक मनोजित कुवँर, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हिरा बहादुर गुरुङ, नव जनजागृति युवा क्लबका पूर्व अध्यक्ष राजकुमार भट्टराई, नेकपा एमाले जीतपुरसिमरा वडा नं. १ कमिटीका अध्यक्ष ईश्वर थपलियालगायत उपस्थित थिए । कार्यक्रममा नव जनजागृति युवा क्लबका महासचिव शम्भुसिंह भट्टराई, ग्रासरुट फाउण्डेशनका बसन्त ढकाललगयातले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन श्याम सुवेदी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्