मनहर्वा गोल्डकपको तेस्रो संस्करण शनिबार सुरु हुँदै, खेलाडी र खेलप्रेमी उत्साहित
सिमराः मनहर्वा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु हुदैछ । जीतपुरसिमरा १८ स्थित मौवादेवी युवा क्लबको खेल मैदानमा सुरु हुने प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा छ ।
झण्डै एक दशकपछि निरन्तरता पाउन लागेको प्रतियोगिताको उद्घाटन भव्य बनाउन स्थानीय युवा उत्साहित भएर लागेका छन् । खेल मैदान मर्मत, स्टेज निर्माण, तारघेरालगायतको काम सम्पन्न भईसकेको छ ।
२०७१ मै दोस्रो संस्करण सम्पन्न भएको गोल्डकपको तेस्रो संस्करण ९ वर्षपछि हुदैछ । त्यसैले पनि स्थानीय युवा, खेलप्रेमी र खेलाडीले गोल्डकपको निरन्तरतालाई महत्व दिएका छन् ।
आयोजक मौवादेवी युवा क्लबले पनि प्रतियोगितालाई व्यवस्थित बनाउन मेनहत गरिरहेको छ । प्रतियोगितालाई निरन्तरता दिन मौवादेवी युवा क्लबले गरेको ‘होस्टे’ मा स्थानीय सरकारको रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को कार्यालयले ‘हैसे’ मिलाईरहेको छ ।
गोल्डकपको निरन्रताका लागि वडा नं. १८ को कार्यालयले तीन लाख रकम विनियोजन गरेपछि अघि बढेको आयोजकलाई अन्य वडाले समेत साथ दिईरहेका छन् । प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिकाले पनि सहयोग पाउने अपेक्षा आयोजकको छ । प्रतियोगिताको निरन्तरता चाहने स्थानीयबासी र संघसंस्थाले पनि सहयोग गरिरहेका छन् ।
चौतर्फी सकारात्मक समर्थनपछि आयोजक पनि उत्साहित छ । आयोजकको निम्तो स्वीकार गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रतियोगिताको उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा प्रदेशका खेलकुद मन्त्री, स्थानीय जनप्रतिनिधिलगायतको उपस्थिती रहनेछ ।
पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष चर्तुरबाबु वाग्ले, आयोजक क्लबका पूर्वअध्यक्ष बसन्त खतिवडा, प्रतियोगिता व्यवस्थापन समितिका संयोजक राजु तिमिल्सिनालगायत क्लबका पदाधिकारी र सदस्य सहभागी थिए । पत्रकार सम्मेलनको सहजीकरण राजु कार्कीले गरेका थिए ।
आठ टिमको सहभागिता, विजेतालाई दुई लाख
माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । आयोजक क्लबका अध्यक्ष निर्मल यादवका अनुसार प्रतियोगितामा आयोजकसहित साविक विजेता नव दुर्गा युवा क्लब, वीरगन्ज युनाइटेड क्लब, नमस्ते युवा क्लब हरिवन, हानामी बिएफसी चितवन, रिगल हेटौडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफसी क्लबको सहभागिता रहेनछ । उद्घाटन खेलमा हरिवन र आयोजक भिड्नेछन् ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र मिडफिल्डरले १० हजार, उत्कृष्ट प्रशिक्षकले पाँच हजार र उदयीमान खेलाडीले पाँच हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने एक टिमलाई फेयर प्ले अवार्डमार्फत २५ हजार नगदले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको अनुमानित लागत २० लाख ८६ हजार रहेको छ । प्रतियोगिता सम्पन्न गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को कार्यालयसहित अन्य वडाले आर्थिक सहयोग गर्ने भएका छन् ।