कृपा दैनिकको वार्षिकोत्सवमा तीन पत्रकार पुरस्कृत हुने
सिमराः बाराबाट प्रकाशन हुँदै आएको कृपा दैनिकले आफ्नो २०औं वार्षिकोत्सवमा तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कृपा दैनिकको पुरस्कार छनौट समितिको बैठकले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
पुरस्कृत हुने पत्रकारमा रौतहटका फणी महत, सर्लाहीका ओमप्रकाश ठाकुर र बाराकी शारदा पोखरेल रहेका छन् । महत र ठाकुरलाई स्व. नवजान स्मृति पुरस्कार र पोखरेललाई चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको छनौट समितिका संयोजक कृष्णउदास खनालले जानकारी दिए ।
कृपा दैनिकका तत्कालिन प्रधान सम्पादक स्व. नवराज उपाध्याय र उनकी पत्नी स्व. उमा (जानकी) देवी उपाध्यायको स्मृतिमा ‘नवजान स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो । २०७२ सालदेखि बाराका क्रियाशिल पत्रकारलाई वितरण हुँदै आएको उक्त पत्रकारिता पुरस्कारको राशी ५० हजार रहेको छ ।
यसैगरी कृपा दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनालको स्वर्गीय पिताको स्मृतिमा ‘चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार’ २०६६ सालमा स्थापना भएको हो । उक्त पत्रकारिता पुरस्कारको राशी १० हजार रहेको छ ।
फाल्गुन ५ गते निजगढमा हुने वार्षिकोत्सव कार्यक्रममा तीनै जना पत्रकारलाई पुरस्कृत गरिने कृपा दैनिकका संस्थापक सम्पादक कमलकुमार उपाध्यायले जानकारी दिए ।