काठमाडौं फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह


eShilalekh

१८ माघ २०८०, बिहीबार ०९:३२

सिमराः पुस चौथो सातादेखि सिमरामा बसेर तराईका विभिन्न जिल्ला भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार काठमाडौं फर्किएका छन् । पूर्वरानी कोमलसहित पुस २३ गते सिमरा आएका पूर्वराजा शाह २४ दिनपछि सडक मार्ग हुँदै काठमाडौं फर्किएका हुन् ।

सिमरास्थित प्रभु निवासमा बसेर पूर्वराजा शाहले बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुरका विभिन्न धार्मिक स्थलको भ्रमण गर्नुका साथै वीरगन्जमा नागरिक अभिनन्दन ग्रहण गरेका थिए ।

सिमरा बसाइँका क्रममा पूर्वराजा शाहले आफ्ना शुभेच्छुक संघसंस्था र समर्थकसंग भेटघाट र छलफल समेत गरेका थिए । काठमाडौं फर्कनुपूर्व पूर्वराजाले सिमरामा आफ्ना शुभेच्छुकका लागि दिवाभोजको समेत आयोजना गरेका थिए ।

वीरगन्जको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन आएका पूर्वराजा शाहले पुस २८ गते सर्लाहीको मुक्तेश्वर, माघ २ गते रौतहटको शिवमन्दिर, माघ ४ गते बाराको गढीमाई मन्दिर, माघ ७ गते हेटौंडाको भूटनदेवी मन्दिर पुगेर पूजा गरेका थिए भने माघ ३ गते पर्सा राष्ट्रिय निकुञ्ज र माघ ६ गते जीतपुरसिमरा ६ स्थित मुसहर बस्ती पुगेका थिए ।

पूर्वराजा शाहलाई माघ १३ गते वीरगन्जमा नागरिक अभिनन्दन गरिएको थियो । पूर्वराजा शाहले उक्त अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्