गाडीको ठक्करबाट घाइते मिश्रको मृत्यु, स्थानीयद्धारा बरियारपुरस्थित सडकमा शव राखेर प्रदर्शन


eShilalekh

४ फाल्गुन २०८०, शुक्रबार १३:११

बरियारपुरः गाडीको ठक्करबाट गत बुधवार घाईते भई उपचाररत महागढीमाई नगरपालिका २ का ५० वर्षीय हरेन्द्र मिश्रको बिहीवार राती मृत्यु भएको छ । सरस्वती पूजाको दिन बरियारपुरबाट साइकल चलाएर कलैयातर्फ जाँदै गरेका मिश्र पसाहा पुल नजिक गाडीले ठक्कर दिँदा गम्भीर घाईते भएका थिए ।

पहिचान खुल्न नसकेको गाडीको ठक्करबाट घाईते भएका मिश्रको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको थियो । उपचारका क्रममा निधन भएपछि पीडित परिवार र स्थानीयले बरियारपुरस्थित इनर्वा चोकमा शव राखेर शुक्रवार बिहानदेखि प्रदर्शन गरेका छन् ।

ठक्कर दिने गाडीको पहिचान गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन माग गर्दै गरिएको प्रदर्शनका कारण हुलाकी राजमार्गको उक्त सडकखण्ड बिहानैदेखि अवरुद्ध छ । मिश्रलाई ठक्कर दिने गाडीको पहिचान खुल्न सकेको छैन ।

सडकमा टायर बालेर बिरोध घटनाको विरोध जनाईरहेका स्थानीयले पीडित परिवारले क्षतिपूर्ति नपाएसम्म प्रदर्शन जारी रहने बताएका छन् । पुजारीको काम गर्दै आएका मिश्र सरस्वती पूजा गराउनका लागि बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको स्थानीयले जानकारी दिएका छन् ।

तस्वीरहरुः नरेश गुप्ता

प्रतिक्रिया दिनुहोस्