कृपा दैनिकको वार्षिकोत्सव समारोहमा तीन पत्रकार पुरस्कृत
सिमराः कृपा दैनिकले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा शनिबार बारासहित तीन जिल्लाका पत्रकारलाई पुरस्कृत गरेको छ । निजगढमा आयोजित एक कार्यक्रमकाबीच कृपा दैनिकले बारा, रौतहट र सर्लाहीका तीन जना पत्रकारलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा बाराकी शारदा पोखरेल, रौतहटका फणी महत र सर्लाहीका ओमप्रकाश ठाकुर रहेका छन् । पोखरललाई १० हजार राशीको चन्द्रप्रसाद खनाल स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार गरिएको हो भने महत र ठाकुरलाई ५० हजार राशीको उमादेवी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट संयुक्तरुपमा पुरस्कृत गरिएको थियो ।
प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण बस्नेत, बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनाली, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, कृपा दैनिकका संस्थापक सम्पादक कमलकुमार उपाध्याय, सम्पादक गोकुलप्रसाद घोरसाईनेले नगद राशीसहित पत्रकारलाई पुरस्कृत गरेका थिए । पत्रकार ठाकुरले भने आफूले पाएको २५ हजार नगद स्वास्थ्य समस्याका कारण उपचार गराईरहेका पत्रकार महतलाई हन्तान्तरण गरेका थिए ।
सोही अवसरमा कृपा दैनिकले पूर्वसम्पादक राकेश पाण्डे र संवाददता पुष्पराज खतिवडालाई सम्मानित गरेको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले मर्यादित र जनउत्तरदायी पत्रकारितामा जोड दिन आग्रह गरेका थिए । समाजको तेस्रो आँखाको रुपमा रहेको पत्रकारिताको मर्म र भावनामा रहेर पत्रकारिता गर्न सकिए सामाजिक न्याय र सुशासन स्थापित हुन टेवा पुग्ने बस्नेतको भनाई थियो ।
कार्यक्रममा सांसद मैनालीले पत्रकारिता क्षेत्रले समाजमा पुर्याउन सक्ने योगदानको चर्चा गरेका थिए । यसैगरी नगर प्रमुख पुरीले व्यवस्था परिवर्तनका लागि संचार क्षेत्रको खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोबिन्द चौलागाईं, प्रेस संगठनका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठ, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष सन्तोष दंगाल, राप्रपा नेपालका नगर कमिटी अध्यक्ष खड्कप्रसाद मैनालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सम्पादक घोरसाईनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक सम्पादक उपाध्यायले स्वागत मन्तब्य राखेका थिए भने सहजीकरण कार्यकारी सम्पादक कृष्णउदास खनालले गरेका थिए ।