अन्नपूर्ण पदयात्राः सुन्दर हिमाल, अविस्मरणीय याद
सिमराः सामाजिक संजाल फेसबुकको भित्ता साथीहरु घुम्न गएको तस्वीरले भरिएको थियो । आफू घुम्न नगएपनि विभिन्न पर्यटकिय स्थलको तस्वीर हेर्दा आफू नै पुगेको अनुभूती दिँदै थियो । कार्तिक महिनाको मौसम न चिसो, न त चर्कोे घाम नै लागेको थियो । यस्तै मौसममा त हो घुम्न जाने सोच्दै ओछ्यानमा पल्टिदै थिए । एक्कासि साथीको म्यासेज आउँछ ‘अन्नपूर्ण ट्रेक जादैछौं, जाने हो ?’ म्यासेज पढेर म एकदम खुशी भए । यस्तो मौका छोड्नु हुन्न भनेर ढिलो नगरिकन ‘जान्छु’ भन्दै जवाफ फर्काए । र शुरु भयो हाम्रो अन्नपूर्ण आधार शिविर (एबीसी बेस क्याम्प) पदयात्रा जाने तयारी ।
दशैं अगाडि योजना बनाए पनि हामी पछि मात्रै जाने निर्णय गर्यौ । कारण हामीसंगै जाने साथीमध्येका एक अभिशेक गुरुङ्ग भारतीय सेनामा कार्यरत रहेको र उसको बिदा दशैंपछि मात्रै थियो । ट्रेकिङको मुख्य योजनाकारनै अभिशेक र उसको दिदी थिईन् । साथीहरुले मलाई पनि सम्झेको छ भन्ने कुराले म एकतिर खुशी थिए भने अर्कोतिर ट्रेकिङ जाने कुराले मलाई निकै उत्साहित बनाएको थियो ।
ट्रेकिङ जाने दिन नजिकिदै थियो । १० जना साथी मध्ये तीन जनाको समय नमिल्ने भएर उनीहरुले पछि नजाने निर्णय गरे । त्यसपछि हामी सात जनामा सिमित भयौ र तयारीमा लाग्यौ । बाराबाट तीन जना साथीलाई लिएर म काठमाडौंको लागी प्रस्थान गरे । बाँकी तीन जना साथी भने काठमाण्डौ मै थिए ।
ट्रेकिङमा जान किनमेल बाँकी नै थियो । चिसो ठाँउमा जानुपर्ने, धेरै हिड्नुपर्ने । त्यही अनुसारको लुगा जुत्ता, लुगा बोक्नै पथ्र्यो । अनि यो सब किनमेल काठमाडौं मै गर्ने भनेर हामी पोखरा नगई पहिला काठमाडौंतर्फ लाग्यौ । काठमाडौं पुगेको भोलिपल्ट १ बजे खरिदारी गर्न बजार निस्कीयौं ।
पहिला हामीले ट्रेकिङ गर्दा लगाउने जुत्ता किन्यौ । त्यसपछि बाक्लो ज्याकेट किन्न गयौं । हामीले ज्याकेट हेर्दै गर्दा एउटा पसलको दाईले ‘भाइहरु अन्नपुर्ण बेस क्याम्प जान लागेको हो ?’ भन्दै अनुमान लगाएर प्रश्न तेर्साउनुभयो । ‘हो दाइ’ भन्दै साथीले जवाफ फर्काउने वित्तिकै पसलको दाईले भन्नुभयो ‘अस्ति भर्खर अन्नपूर्ण बेस क्याम्पबाट फर्केको एक जना बिदेशी पर्यटक पसलमै आउनुभएको थियो । चिसोले धेरै मुख फुटेको रहेछ’ यो सुन्ने बित्तिकै मलाई डर लाग्यो किनकी चिसोका कारण म अलि बढी बिरामी हुने मध्ये पर्दछु ।
पसलको दाइको कुरालाई मनमा राख्दै ज्याकेटलगायतको कपडा किनेर हामी फर्कियौ । राती खाना खाएर सुत्ने बेला फेरी पसलको दाइको कुरा सम्झिए । घरबाट उत्साहित हुँदै निस्किएको म त्यो कुराले डर पैदा गर्दै थियो । उता मेरो साथी निर्मललाई बेस क्याम्प जाने कुराले निन्द्रा लागिरहेको थिएन ।
बिहान हामी ५ बजे उठयौ र पोखराको लागी काठमाण्डौं बाट हिड्यौ । बस काउन्टर पुगेर पनि पसलको दाइको कुराले सम्झिरहेको थिए । अन्नपूर्ण बेस क्याम्प जाने आँट हराउँदै गएको थियो । मनमा अनेक कुरा खेल्न थालेको थियो । ‘मलाई सन्चो नहोला जस्तो भयो, पेट एकदमै दुखेको छ, म त जान्न’ भन्दै साथीसंग बहाना बनाउन खोजे । ‘केही भएको छैन, डराएर यस्तो भनेको हो’ भनेर साथीले बहाना थाहा पायो । अन्ततः हिम्मत जुटाउँदै बस चढे । र हामी पोखराको लागि हिडयौ ।
म पहिलो चोटी पोखरा पुगेको थिए । हिमालको मनमोहक दृश्यले गर्दा मेरो मनबाट सब डर हराँउदै गएको थियो । हामी पोखराबाट घान्द्रुकतर्फ जान गाडी चढ्यौं । स्कोरपियो पाइने रहेछ । घान्द्रुक पुग्दा रात परिसकेको थियो । ओहो, रातिको अध्यारोमा पनि हिमाल जुन जस्तै टल्केको थियो । हिमाललाई हातले नै छुन्छु कि जस्तो लाग्दै थियो । आँखा अगाडिको हिमाल र घान्दु्रकको चिसो मौसमले मनमा उब्जेको सबै डर हराई सकेको थियो । यहि यस्तो छ भने अन्नपूर्ण झन कस्तो होला भनेर बिस्तारै म पनि उत्साहित हुँदै गए ।
उत्साह थपिदै जाँदा फेरी अर्को घटना सुनेर मनोबल शुन्यमा झर्न पुग्यो । ‘केही दिन अघि अन्नपूर्ण बेस क्याम्पको यात्रामा एकजना प्रहरीलाई साँस फेर्न समस्या भएर मृत्यु भयो’ भन्दै होटलका संचालकले दुःखद् घटना सुनाए । त्यो सुनेर म झन डराए । तर यहाँ सम्म पुगेर घर फर्किन चाहिन र अब जे होस अन्नपूर्ण बेस क्याम्प पुग्ने अठोट गरे ।
हामीले त्यस रात घान्द्रुकमै बितायौ र बिहान ७ बजे उठयौ । सूर्य उदाउँदाको त्यो दृश्य एकदम मनमोहक थियोे । सेतो हिमालले पहेंलो घुम्टो ओढेको जस्तो । त्यो दृश्य हेर्न र घान्द्रुकको पर्यावरणमा रमाउन देशविदेशबाट पर्यटक पुगेका थिए । हामीलाई ट्रेकिङ्गको हतार थियो त्यसैले फटाफट खाजा खायौं र विभिन्न पोशाक लगाएर घान्द्रुकको याद रहने स्वरुप फोटो खिच्यौं ।
घान्द्रुकका स्थानीयले अन्नपूर्ण बेस क्याम्प पुग्न घान्द्रुक बाट तीन दिन लाग्छ भनेका थिए । एक दिनमा कमसेकम ६ घन्टा हिड्नुपर्ने रहेछ । हामीलाई पहिलो दिन घान्द्रुकबाट छोमरोङ पुग्नु थियो । हामी १०ः३० बजे घान्द्रुकबाट छोमरोङको लागि हिड्यौ । हामी हिडेको ३० मिनेट पनि भएको थिएन कि हामीसंगै हिड्नु भएकी शोभा दिदी थाक्नुभयो । उहाँ भर्खर कतारबाट फर्किनु भएको रहेछ । त्यति हिड्ने बानी थिएन । शोभा दिदीको ब्याग साथीहरुले नै बोके । हामी आराम गर्दै, बाटोमा सुन्दर दृश्यहरुको फोटो खिच्दै रमाइलो गर्दै हिडिरहेका थियौं ।
सबैजनालाई भोक लागीसकेको थियो । डाडा चढेर ओरालो झर्दै थियौ । खोला किनारमा होटल थियो । हामीले त्यही होटलमा खाना खायौं । हिमाली क्षेत्र भएकोले अन्य ठाँउको तुलनामा यता खाना अली महँगै थियो । सादा खाना प्रति व्यक्ति ५०० देखि ६०० रुपैया सम्म । ‘कति धेरै महँगो रहेछ खाना त, यतै होटल खोल्यो भने त राम्रो आम्दानी हुन्छ होला’ साथी सुनिलले ठट्टा गर्दै भन्यो । ‘यतै बिहे गरेर घरजम गरे भैगो नी’ हामीले सुनिललाई जिस्काउँदै भन्यौं ।
खाना खाइसके पछि सुनिलले होटलको अन्टिसंग जिस्किदै भन्यो ‘अन्टी घरजम गरेर यतै बस्नुपर्यो । उसको कुरा सुनेर होटलको अन्टीले हाँस्दै सोध्नुभयो ‘सहरको केटा हाम्रो तिरको केटीलाइ बिहे गर्छौ त?’ साथीले थप्यो ‘गर्छु नि अन्टी घरज्वाई बनेर बस्न पनि तयार छुँ’ । साथिको कुरा सुनेर हामी सबै जना हास्यौं र अन्टीसंग बिदा लिदै आफ्नो गन्तव्य तिर लाग्यौँ ।
छोमरोङ पुग्दा साँझ परिसकेको थियो । होटलमा कोठाको लागि साथीले पहिलै कुरा गरिसकेको थियो । हामीले कोठामा सामान राखेर नुहायौं । ओहो, यहाँ त तातो पानीले नुहाएको पैसा तिर्नुपर्ने, फोन चार्ज गरेको छुट्टै पैसा, पिउने तातोपानीको छुट्टै पैसा लाग्ने रहेछ । ठाँउ अनुसार आम्दानीको श्रोत फरक–फरक थियो । तर होटल संचालकसंग साथीको चिनजान राम्रो भएकोले हामीलाई पैसा तिर्नुपरेन ।
हाम्रो दोस्रो दिनको यात्रा छोमरोङ बाट हिमालय होटलसम्मको थियो । त्यसैले हामी सबैजना खाना खायौ र चाँडै सुत्यौ । भोलीपल्ट बिहान छोमरोङबाट हिमालयको लागी ७ः३० बजे हिड्यौ । ४५ मिनेट हिडेपछि हामी लोअर सिनुवा पुग्यौ । एक घन्टा पछि हामी अपर सिनुवा पुग्यौ । सिनुवाबाट ब्यामबु पुगेपछि एकछिन आराम गर्दै पछाडी परेका साथीहरुलाई पर्खेर बस्यौ । ब्यामबु २३१० मिटरको उचाइमा थियो । साथीहरु आएलगतै ब्यामबुबाट हिडेको दुई घन्टापछि हामी दोभान पुग्यौ । भोक लागेर सबैलाई गाह्रो भइसकेको थियो । एउटा होटलमा खाना अर्डर गर्यौ । खाना खाएर ४५ मिनेट आराम गरेर हिड्यौ ।
दोभान बाट हिडेको एक घन्टामा ठूलो झरना पुग्यौ । झरना नजिक मन्दिर थियो, त्यहाँको म्यानेजमेन्टले मन्दिरबाट माथि माछा र मासु बेच्न रोक लगाएको थियो । साथी सुनिल र सोभा दिदी पछाडी नै हुनुहुन्थ्यो । शोभा दिदी हिड्न सक्नु भएको थिएन, त्यही भएर सुनिलले शोभा दिदीलाई साथ दिईरहेको थियो । उनिहरु आउने बेलासम्म हामीहरु फोटो खिच्न थाल्यौ । करिब एक घन्टासम्म पनि नआउँदा हामीलाई डर लाग्न थालिसकेको थियो । धेरै बेर भइसकेपछि अभिसेकले, ‘तिमीहरु अगाडी तिर जादै गर म उनिहरुलाई खोजेर लिएर आउछु’ भन्यो । हामी चार जना अगाडी बढ्यौ । एक घन्टापछि हामी हिमालय पुग्दा त शोभा दिदी र सुनिल भन्ने साथी पहिले नै हिमालय पुगिसकेका थिए ।
उनिहरुले हामीलाई सरप्राइज दिने भन्दै बाटोमा भेटेको गाइडले बताएको छोटो बाटोबाट आएका रहेछन । अब हामीलाई झन डर लाग्न थाल्यो, उनिहरुलाइ खोज्न भनेर गएको अभिसेक साथी फर्केको थिएन । कुरेको ३० मिनेट भइसकेको थियो साथी अझै आइपुगेको थिएन । रात परिसकेको थियो, हामी साथीलाइ खोज्न जानै लागेको थियौ साथी दौडेर आइरहेको देख्यौ । साथीलाई देख्ने वित्तिकै हामी खुशी भयौ । हामीले बुक गरेको होटलमा पुग्यौ । हिमालयमा धेरै नै जाडो र हावाहुरी चलिरहेको थियो । हामी कोठामा गएर सामान राखेर फ्रेस भएर खाना खान गयौँ । खान खाइसकेपछि हामी चाँडै सुत्न गयौ । तेस्रो दिन हामीलाई माछापुच्छ्रे बेस क्याम्प पुगेर अन्नपूर्ण बेस क्याम्प पुग्नु थियो ।
हामी बिहानै ६ बजे उठेर नास्ता खाएर हिड्यौ । माछापुच्छ्रे बेस क्याम्प धेरै नै उचाईंमा थियो । हामी एक घण्टा हिडेपछि देउराली पुग्यौ । देउरालीमा १५ मिनेट आराम गरेर हिड्यौ । हामी १२ बजे माछापुच्छ्रे बेस क्याम्प पुग्यौं । त्यहाँ पुग्नासाथ न्यानो कपडा लगाइहाल्यौ । भिडियो बनायौं र फोटोहरु खिच्यौं । धेरै नै जाडो थियो र हावा चलिरहेको थियो । एकछिनमा हिउ पर्न थाल्यो । माछापुच्छ्रे बेस क्याम्पको होटल भित्र पर्यटकले भरेको थियो । हामी २० मिनेट बाहिर नै बस्नु परेको थियो । उनिहरु खाना खाइसकेपछि हामी खाना खान गयौ । खाना खाइसकेपछि एकछिन बसेर हिडिहाल्यौ ।
हामी जति अन्नपूर्ण बेस क्याम्प नजिक पुग्दै थियौ, त्यति नै राम्रो दृश्यहरु देखिरहेका थियौं । त्यो देखेर हामी सबै जना खुशीले रमाइरहेका थियौँ । बाटोमा फोटो खिच्दै, रमाइलो गर्दै बेलुकासम्म अन्नपूर्ण बेस क्याम्प (४१३० मिटर) पुग्यौ । आँखा अगाडी हिमाल देख्दा सपना जस्तै महसुस भइरहेको थियो । रात पर्न थालेको थियो, ३० मिनेट जति फाटो खिचेर हामी सिजनको कारणले होटलहरु पुरै भरिभराउ थियो । कतिपय पर्यटक भान्सामा समेत सुतेका थिए ।
हामीले पहिले नै बुक गरेको भएर हामीलाई गाह्रो भएन । राती खाना खान किचेन हलमा गयौ । भान्सामा हाम्रो कोठा भन्दा बढि न्यानो थियो । खाना खाइसकेपछि म कोठा भित्र गइहाले । ‘हाइअल्टिच्युड’ को कारणले साँस फेर्न गाह्रो भइरहेको थियो । साथिहरु एकछिन बसेर आए । म औषधी खाएर चाडै सुते । बिहान चाडै उठेर सनराइज हेर्ने कुरा भएको थियो तर साथीको दिदी बाहेक कोही पनि उठ्न सकेनन । हामी उठ्नु भन्दा अगाडि दिदीले सुर्योदयको भिडियो बनाइसक्नु भएको थियो । अत्यन्तै मनमोहक, अत्यन्तै सुन्दर ।
बिहान मैले अलि आराम महसुस गरिरहेको थिए । उठेर मुख धुन खोज्दा पानी सबै जमेको रहेछ । तातो पानीले मुख धोयौं । केही बेर हिमालको काखमुनी बिताउँदै अविस्मरणीय याद लिएर अन्नपूर्ण बेस क्याम्पबाट फर्किने तयारी गर्यौ । छिट्टै फर्कने मन थिएन, तर स्वास्थ्यका कारण हामी फर्कनुपर्ने भयो । फर्किने बेला ओरालो भएकोले हामीलाई त्यति धेरै समय लागेन । अन्नपूर्ण बेस क्याम्पबाट हिडेपछि हामीले एक रात ब्यामबुमा बितायौ । हाम्रो योजना घान्द्रुक नगइ झिनु गएर हटस्प्रिङ्ग गर्ने थियो । छोमरोङको त्यो ठाडो भर्याङ आएपछि सुबासले, भन्यो ‘तिमी पनी दुई वटा ब्याग बोक्ने आट गर न त’ । मैले नि सङ्कोच नमानि हुन्छ भनेर छोमरोङका ठाडो भर्याङ दुई वटा ब्याग बोकेर ओर्लिए । झिनु पुगेपछि हामी हटस्प्रिङ्गको गर्न गयौ ।
हटस्प्रिङ्ग गरिसकेपछि खाना खाएर हामी पोखराको लागि स्कोरपियो चढ्यौ । मसंग बासको लौरो थियो जुन मैले घान्द्रुकबाट अन्नपूर्ण बेस क्याम्पसम्म लिएर हिडेको थिए । घर लिएर फर्कन्छु भनेर सोचेको थिए तर चालकले नमानेपछि त्यो लौरो त्यही फालेर हिडनुपर्याे । हामी झिनुबाट पोखरा पुग्न दुई घन्टा लाग्यो । पोखरा पुगेपछि त्यहाँ पनि एकदिन बस्ने योजना बन्यो । तर मलाई फर्कनु पर्नेथियो । केही बेर फेवताल घुमे । त्यही दिन मेरो चार बर्षे बिबिएसको नतिजा आएको थियो र म उतिर्ण भएको थिए । त्यो दिन मेरो लागी धेरै खुशीको थियो । अन्नपूर्ण बेस क्याम्पको याद र परिक्षा उतिर्णको खुशी लिएर घर फर्किए ।