वीरगन्जमा कर्फ्यु सुरु, सडकमा ठुलो संख्यामा प्रहरी परिचालन
सिमराः जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका केही स्थानमा साँझ ५ बजेदेखि लागू हुने गरी अनिश्चिितकालिन आदेश जारी गरेको छ ।
रौटहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा फाल्गुन ३ गते भएको झडपको विषयलाई लिएर सोमबार वीरगन्जमा गरिएको विरोध प्रदर्शनमा विवाद उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) क्षेत्रभित्र कर्फ्यु लगाएको हो ।
वीरगन्जमा गरिएको प्रदर्शनमा विवाद भएपछि र स्थिती नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जनाएका छन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा (क) बमोजिम तोकिएको क्षेत्रभित्र आवत जावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने गरी कर्फ्यु आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी भुषालद्धारा जारी सूचनामा उल्लेख छ ।
तस्वीरहरुः क्रान्ति साह