सामाजिक कुरीति र कुसंस्कारलाई संरक्षण नगर्न आग्रह


eShilalekh

२० पुष २०७८, मंगलवार १२:५२

जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वतीदेवी चौधरीले सामाजिक विकृति नियन्त्रणमा स्थानिय सरकार प्रतिबद्ध रहेकी बताएकी छिन् । सिमरामा मंगलवार आयोजित सामाजिक कुरीति र कुसंस्कारविरुद्धको अन्तक्र्रिया कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपप्रमुख चौधरीले यस्तो गतिविधि नियन्त्रणमा स्थानिय नागरिकको भूमिका अहम रहेको बताईन् ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सामाजिक कुरीति र कुसंस्कारलाई संरक्षण नगर्न आग्रह गरे । सामाजिक अपराध सरह ठहरिने त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न समाजनै अग्रसर हुनुपर्ने प्रजिअ कटुवालको भनाई थियो । ‘सामान्य घटना भनेर वेवास्था गर्ने गरिएको छ । कतिपयले संरक्षण गरिरहेका पनि हुन्छन्’ प्रजिअ कटुवालले भने ‘त्यसरी संरक्षण गर्दा त्यस्तो घटनालाई प्रोत्साहन पुग्न जान्छ । त्यसैले संरक्षण र प्रोत्साहन गर्ने काम कसैले पनि नगरौं ।’

प्रजिअ कटुवालले सामाजिक विकृति, कुरीति, कुसंस्कार अन्त्य गर्नका लागि समाजका हरेक पक्ष उत्तिकै जिम्मेवार र सचेत हुनुपर्ने बताए । समाजमा भएका घटनालाई ढाकछोप नगरेर कानुनी दायरामा ल्याउन सहयोग गर्न उनले आग्रह गरे ।

पछिल्लो समय सामाजिक संजालले थुप्रै विकृति ल्याएको भन्दै प्रजिअ कटुवालले त्यसको नियन्त्रण पनि घरबाटै हुनुपर्ने बताए । साना बालबालिका, युवायुवती सामाजिक संजालमा व्यस्त रहने र त्यसले नकारात्मक परिणाम ल्याईरहेको भन्दै उनले त्यस्ता गतिविधिमा अभिभावक सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले सुन्दर समाजको निर्माणको अभियानमा लाग्न सबैलाई आग्रह गरे । समाजलाई सुन्दर बनाउने पहिलो जिम्मेवारी नागरिकको रहेको भन्दै सेढाईंले त्यसको जिम्मेवारी पूरा गर्न नागरिक पछाडी हट्न नहुने बताए ।’हाम्रो समाज राम्रो बनाउने हामी आफैले हो भन्ने बोध सबैलाई भयो भने त्यो समाज आफै सुन्दर हुदै जान्छ’ सेढाईंले भने ‘एकले अर्कालाई दोष लगाउने भन्दा पनि दायित्वबोध सबैलाई हुन जरुरी छ ।’ नागरिक, स्थानिय सरकार, प्रहरीप्रशासनबीचको सहकार्यले समाजमा हुने कुरीति र कुसंस्कार न्युनिकरणमा ठुलो सहयोग पुग्ने सेढाईंको भनाई थियो ।

कार्यक्रममा बाराका प्रहरी उपरिक्षक दीपेन्द्र शाहीले समाजमा हुने सबै प्रकारका हिंसा, कुरीति, कुसंस्कार नियन्त्रणका लागि आफूहरु गम्भिरताका साथ काम गरिरहेको बताए । उनले त्यस्ता गतिविधिलाई पूर्णरुपमा निरुत्साहित गर्नका लागि कानुनमा व्यवस्था भएबमोजिम कारवाही गर्न प्रतिबद्ध रहेको बताए । उनले त्यस्ता गतिविधि नियन्त्रणमा आमनागरिकको सहयोग र सहकार्य जरुरी रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय बारा र सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त सहकार्यमा आयोजित कार्यक्रममा सामाजिक हिंसामा परेका नागरिक, बालबालिका, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणलगायतको सहभागिता रहेको थियो । सहभागीले राखेको जिज्ञासालाई प्रजिअ कटुवालले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सिमरा महिला बचत ऋण सहकारीकी अध्यक्ष अनिता लम्साल अधिकारीले स्वागत मन्तब्य राखेकी थईन् । कार्यक्रमको सहजीकरण गिता शर्माले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्