कलैया र जीतपुरमा निकालियो `धार्मिक सामाजिक सद्भाव र्याली´
सिमरा: बाराको कलैया र जीतपुरमा बुधवार बिहान धार्मिक सामाजिक सद्भाव र्याली निकालिएको छ । कलैयामा जिल्ला प्रशासन कार्यालय बाराको अगुवाई र जीतपुरमा स्थानीय धार्मिक संघसंस्थाको आयोजनामा सद्भाव र्याली निकालिएको हो ।
जिल्ला प्रशासन कार्यालय परिसरबाट निकालिएको सद्भाव र्यालीले कलैयाको बजार क्षेत्र परिक्रमा गरेको थियो । रौतहटको ईशनाथ नगरपालिका फाल्गुन ३ गते दुई पक्षबीच भएको झडपको बिषयलाई लिएर सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै प्रशासनको अगुवाईमा सद्भाव र्याली निकालिएको हो ।
सामाजिक एकता र सद्भाव कायम रहेको सन्देश दिन निकालिएको र्यालीमा विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, खेलाडी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।
यसअघि मंगलबार स्थानीय प्रशासन र बारामा क्रियाशिल राजनीतिक दलबीच सामाजिक सद्भाव बिग्रन नदिनका लागि छलफल भएको थियो । उक्त छलफलमा सामाजिक तथा धार्मिक एकता कायम राख्न प्रतिवद्धता जनाएका १२ राजनीतिक दलले संयुक्त अपिल समेत जारी गरेका थिए ।
यता जीतपुरमा निकालिएको र्यालीले बजार परिक्रमा गर्दै सामाजिक धार्मिक सहिष्णुता कायम राख्न सन्देश दिएको थियो । र्यालीमा सर्वपक्षीय सहभागिता रहेको थियो ।