निजगढ अपडेटः विष्फोटमा गम्भीर घाइते भएका ग्यारेज संचालकको मृत्यु


eShilalekh

१४ फाल्गुन २०८०, सोमबार १५:०८

सिमराः निजगढस्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट हुँदा घाईते भएका पाँच जनामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्यारेज संचालक ४५ वर्षीय रेशम मगर रहेका छन् ।

निजगढ नगरपालिका ७ स्थित रोहित वर्कशपका संचालक मगर विष्फोटमा परी गम्भीर घाइते भएका थिए । मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

घटनामा दुई भारतीय नागरिकसहित चार जना घाईते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनिहरुको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्णरुपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सुर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये थापाको अवस्था सामान्य छ । थापाको निजगढ र अन्यको वीरगन्जमा उपचार भईरहेको छ ।

विष्फोट भएको उक्त वस्तु के हो भन्ने खुल्न सकेको छैन । प्रहरी प्रवक्ता न्यौपानेले लेथमा फलाम काट्ने क्रममा विष्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्