निजगढः ग्यारेजमा भएको शंकास्पद वस्तु विष्फोटको घटनामा थप एकको मृत्यु
सिमराः बाराको निजगढ ७ स्थित गाडी मर्मत गर्ने कारखाना (ग्यारेज) मा सोमबार भएको शंकास्पद वस्तु विष्फोटको घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । विष्फोटमा परि गम्भीर घाईते भएका एक भारतीय नागरिकको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत गवाईका ३५ वर्षीय राकेश जयसवाल रहेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् । विष्फोटमा परेका उनको खुट्टाको शल्यक्रिया समेत गरिएको थियो ।
जयसवालको मृत्यु भएसंगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि रोहित वर्कशप ग्यारेज संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको थियो । लेथमा फलाम जस्तो देखिने वस्तु काट्ने क्रममा विष्फोट हुँदा मगरको शरीरमा गम्भीर चोट लागेको थियो ।
घटनामा अन्य चार घाईते भएका छन् । घाईतेमध्ये दुई अवस्था गम्भीर छ । गम्भीर घाईते हुनेमा वीरगन्ज ९ का २० वर्षीय रितु रजत र भारत रामघढवाका २० वर्षीय अरविन साह रहेका छन् । उनिहरुको बयोधा अस्पतामा उपचार भईरहेको छ । घटनामा वीरगन्ज ९ का फिरोद देवान र निजगढ ५ का सुर्यबहादुर थापा सामान्य घाईते भएका छन् ।
निजगढ ७ स्थित रोहित वर्कशपमा भएको उक्त घटनामा विष्फोट भएको वस्तुको पहिचान हुन सकेको छैन । यसअघि सिलिण्डर पड्किएको भनेर सूचना प्रवाह गरेको प्रहरीले समेत आफ्नो सूचना सच्याउदै शंकास्पद वस्तु भनेको छ ।
घटनास्थलमा फलामको टुक्रा भेटिएका छन् । उक्त टुक्रालाई प्रहरीले ल्याब परिक्षणका लागि पठाउने तयारी गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले विष्फोट भएको उक्त वस्तु अहिले शंकास्पद रहेको र ल्याब परिक्षणपछि मात्रै भन्न सकिने बताए ।
प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि एक कवाडी संचालकसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । कवाडी संचालकले उक्त वस्तु काट्का लागि भन्दै ग्यारेजमा लगेका थिए । फलाम जस्तो देखिने उक्त वस्तुभित्र तामा रहेको भन्दै कवाडी संचालकले एक सय रुपैया दिएर ग्यारेजका संचालकलाई लेथ मेसिनबाट काट्न लगाएका थिए ।
उक्त विष्फोटक वस्तु कवाडी संचालकले कहाँबाट ल्याए भन्ने अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक काफ्ले बताए । घटनालगत्तै फरार भएका कवाडी संचालकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ ।