निजगढः ग्यारेजमा भएको विष्फोटको घटनामा मर्नेको संख्या तीन पुग्यो (अपडेट)
सिमराः बाराको निजगढ ७ स्थित गाडी मर्मत गर्ने कारखाना (ग्यारेज) मा सोमबार भएको शंकास्पद वस्तु विष्फोटको घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । विष्फोटमा परि गम्भीर घाईते भएका वीरगन्ज महानगरपालिका ९ का २० वर्षीय रितु रजतको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
रजतको बयोधा अस्पतालमा उपचार भईरहेको छ । उक्त घटनामा परि यसअघि ग्यारेज संचालक ४५ वर्षीय रेशम मगर र भारत गुवाईका ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको थियो ।
घटनामा अन्य तीन जना घाईते छन् । घाईतेमध्ये भारत रामगढवाका २० वर्षीय अरविन साहको अवस्था गम्भीर छ । साहको बयोधा अस्पतालमा उपचार भईरहेको छ । यसैगरी घटनामा वीरगन्ज ९ का फिरोद देवान र निजगढ ५ का सुर्यबहादुर थापा सामान्य घाईते भएका छन् ।
निजगढ ७ स्थित रोहित वर्कशपमा विष्फोट भएको उक्त शंकास्पद वस्तुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले के विष्फोट भएको हो भन्ने खुलाएको छैन । यसअघि सिलिण्डर पड्किएको भनेर सूचना प्रवाह गरेको प्रहरीले आफ्नो सूचना सच्याउदै शंकास्पद वस्तु विष्फोट भएको जनाएको छ ।
विष्फोट भएको स्थलमा फलामको टुक्रा भेटिएका छन् । उक्त टुक्रालाई प्रहरीले ल्याब परिक्षणका लागि पठाउने तयारी गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले विष्फोट भएको उक्त वस्तु अहिले शंकास्पद रहेको र ल्याब परिक्षणपछि मात्रै भन्न सकिने बताए ।
प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि भारत मोतिहारीका रमेश जैसवाल र निजगढ ९ का २९ वर्षीय टिकाराम पाख्रीनलाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार पाख्रीनले उक्त वस्तु कवाडीको कारोबार गर्ने जयसवाललाई बेचेका थिए । जयसवालले उक्त वस्तु काट्नका लागि भन्दै ग्यारेजमा लगेका थिए । फलाम जस्तो देखिने उक्त वस्तुभित्र तामा रहेको भन्दै ग्यारेजका संचालकलाई एक सय रुपैया दिएर लेथ मेसिनबाट काट्न लगाएको प्रहरी उपरीक्षक काफ्ले बताएका छन् ।
‘पहिला ५० रुपैया दिएको रहेछ । ग्यारेज संचालकले काट्न नमानेपछि एक सय रुपैया दिएर काट्न लगाएको पाइयो’ प्रहरी उपरीक्षक काफ्ले भने ‘लेथ मेसिनबाट काट्ने क्रममा अचानक विष्फोट भएको देखियो ।’