सामाजिक रुपान्तरणमा संचार क्षेत्रको भूमिका अहम: उपप्रमुख खनाल


eShilalekh

२४ पुष २०७८, शनिबार १८:१४

सिमरा: निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालले सामाजिक रुपान्तरणमा जनप्रतिनिधिसंगै संचार क्षेत्रको भूमिका अत्यन्तै अहम रहेको बताएकी छिन् । प्रेस चौतारी नेपाल बाराको पाँचौ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई शनिवार सम्मान गर्दै उपप्रमुख खनालले संचार क्षेत्र र संचारकर्मीसंगको सहकार्यका लागि आफू सधै तयार रहेको बताईन् ।

संचारकर्मीबाट प्राप्त हुने हौसला र खबरदारीले जनप्रतिनिधिलाई उत्साहित र सचेत बनाउने भन्दै खनालले सामाजिक रुपान्तरणमा संचारकर्मीको भूमिका यसैगरी निरन्तर रहनुपर्ने बताइ्न । समाजमा भईरहेका गतिविधिलाई जनप्रतिनिधि र जनतामाझ ल्याउन अहोरात्र खटिने संचार क्षेत्रको आफू प्रशंसक रहेको बताउदै उनले संचार क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि आफू प्रतिबद्ध रहेको बताएकी छिन् ।

सम्मान कार्यक्रममा बोल्दै उपप्रमुख लिलादेवी लामिछाने खनाल ।

उपप्रमुख खनालले निजगढ नगरपालिकाले जनताको आधारभुत आवश्यकतामध्ये स्वास्थ्य, शिक्षालाई अधिकतम प्राथमिकतामा राख्दै काम गरिरहेको बताईन् । नगरपालिकाले गरेका उत्कृष्ट कामबाट जनतालाई सूसुचित गराईदिन संचारकर्मीसंग आग्रह गर्दै उपप्रमुख खनालले कार्यालयबाट हुने कमजोरी औल्याउन समेत अनुरोध गरिन् ।

जिल्लाको समग्र विकासका लागि संचार क्षेत्रको तर्फबाट प्रेस चौतारी नेपाल बाराले अग्रणी भूमिका खेल्नेमा विश्वस्त रहेको भन्दै उनले संचारकर्मीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक तालिम, प्रशिक्षणजस्ता कार्यक्रममा आफ्नो सहयोग रहने बताईन् ।

सम्मान कार्यक्रममा सहभागी चौतारीका पदाधिकारी र सदस्य ।

कार्यक्रममा नेकपा एमाले निजगढ नगर कमिटीका अध्यक्ष सुरथ पुरीले प्रेस चौतारी नेपाल सक्रिय पत्रकारहरुको संगठन रहेको भन्दै समृद्धिको अभियानमा पार्टीले सहकार्य गर्न तयार रहेको बताए । देशको महत्वपूर्ण अंगमध्येको एक संचार क्षेत्रमा सक्रिय संचारकर्मी आर्थिक सामाजिक रुपान्तरणमा खेल्ने भूमिका महत्वपूर्ण र प्रभावकारी हुने पुरीको भनाई थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीले अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई सम्मान गरेर हौसला प्रदान गरेकोमा उपप्रमुख खनाललाई धन्यवाद व्यक्त गरे । जनतालाई सूसुचित गराउनुका साथै सामाजिक उत्तरदायित्व बहन गर्न प्रेस चौतारी नेपाल बारा शाखा सधै प्रतिबद्ध रहेको भन्दै अध्यक्ष भण्डारीले स्थानिय सरकारसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

सम्मान कार्यक्रममा बोल्दै चौतारीका अध्यक्ष दिवाकर भण्डारी ।

कार्यक्रममा एमाले निजगढ नगर कमिटीका उपाध्यक्ष भोला गौतम, उपसचिव थानेश्वर सापकोटा ‘अविरल’, प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि गोकुल घोरसाईन, लक्ष्मी पाण्डे, जिल्ला शाखा उपाध्यक्षद्धय राधेश्याम पटेल र निलिसा बर्मा, सचिव अनिल तिवारी, सहसचिव ईन्दिप कोईरालालगायत कार्यसमितिका सदस्यहरु सहभागी थिए । कार्यक्रमको सहजीकरण चौतारी बाराका कोषाध्यक्ष थानेश्वर सापकोटाले गरेका थिए ।

प्रेस चौतारी नेपाल बाराको पहिलो बैठक सम्पन्न

प्रेस चौतारी नेपाल बाराको पाँचौ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक शनिवार सम्पन्न भएको छ । बैठकले अधिवशेन सम्पन्न गर्न सहयोग गर्ने स्थानिय सरकारसहित नेकपा एमाले जिल्ला कमिटी, प्रेस चौतारी नेपाल केन्द्रीय कमिटी, प्रदेश कमिटी, विभिन्न संघसंस्थालगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले चौतारीको नजिकिदै गरेको प्रदेश र केन्द्रीय महाधिवेशनलाई सफल बनाउन जिल्ला शाखाबाट हुने सहयोगका लागि प्रतिबद्ध रहेको निर्णय गर्दै प्रदेश अधिवेशनका लागि १० जना प्रतिनिधि चयन गरेको छ । चयन हुने प्रतिनिधिमा अनिल तिवारी, अनिल गौरव, शम्भु महतो, रुद्र धिताल, प्रभात तिमिल्सीना, जियालाल चौधरी, दुष्यन्त चौधरी, सपना ढकाल, भवानी सुवेदी र रेनु चौधरी रहेका छन् ।

प्रेस चौतारी नेपाल बाराको बैठक ।

यसैगरी बैठकले नेकपा एमाले बाराको पुस २८ र २९ गते हुने जिल्ला अधिवेशनका लागि प्रेस चौतारी नेपाल बाराको तर्फबाट कमलकुमार उपाध्याय र जिउतप्रसाद यादवलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । बैठकले प्रेस चौतारीका सात पदाधिकारी र दुई सदस्य रहेको ९ सदस्यीय सचिवालय निर्माण गरको छ । बैठकले प्रेस चौतारी नेपाल बारामा आवद्ध संचारकर्मीको क्षमता अभिबृद्धिका लागि विभिन्न क्षेत्रसंग सहकार्य गरेर क्षमता अभिबृद्धिमुलक तालिम, प्रशिक्षणलगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

शाखा अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । चौतारीका पूर्व केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि एवम् अधिवेशनको अध्यक्ष मण्डलका सदस्य गोकुल घोरसाईनेले प्रमाणपत्र वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्