फोनिज बाराले बुझायो अल्टिमेटम तथा स्मरण पत्र
कलैयाः नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाराले नेपाल पत्रकार महासंघ बारा शाखालाई सात दिने अल्टिमेटम तथा स्मरण पत्र बुझाएको छ । संस्थापक अध्यक्षको विषयलाई पत्रकार महासंघले गम्भीरताका साथ नलिएको भन्दै फोनिजले बारा शाखामार्फत् केन्द्रीय कार्यालयलाई अल्टिमेटम तथा स्मरण पत्र बुझाएको हो ।
फोनिजले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको र पत्रकार महासंघले उक्त इतिहासलाई अवमूल्यन गरेको आरोप लगाएको छ । फोनिजले संस्थापक अध्यक्षको विषयमा पत्रकार महासंघको निर्णय सच्याउन माग गरेको छ ।
फोनिजले वर्तमान नेपाल पत्रकार महासंघको जग तत्कालीन ‘नेपाल पत्रकार संघ’ रहेको र उक्त संघ स्थापना गरेर पत्रकारलाई संगठित गर्ने व्यक्ति श्रेष्ठ रहेको बताउँदै आएको छ । विक्रम सम्वत् २००८ वैशाख ९ गते भएको पत्रकारको भेलाले श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको र २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालिन नेपाल पत्रकार संघ पुनर्गठन भएको स्मरणपत्रमा उल्लेख गरिएको छ ।
फोनिज बारा शाखाका अध्यक्ष जियालाल चौधरीमा रहेको नेतृत्वको टोलीले नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष रामबाबु मेहता, सचिव अनिलकुमार गौरव, सहसचिव दुष्यन्त चौधरीलाई अल्टिमेटम तथा स्मरण पत्र बुझाएको हो । सो अवसरमा फोनिजका सत्यप्रकाश श्रेष्ठ, धिरेन्द्र पनुहर, विनिता चौधरीलगायत उपस्थित थिए ।
यसअघि फोनिज मधेस प्रदेशले नेपाल पत्रकार महासंघ मधेस प्रदेशलाई अल्टिमेटम र स्मरणपत्र बुझाएको थियो । फोनिजका प्रदेश अध्यक्ष दुष्यन्त चौधरीले महासंघका प्रदेश महासचिव श्याम बन्जारालाई उक्त पत्र बुझाएका हुन् ।