हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाखसहित पाँच जना पक्राउ
कलैयाः हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा प्रहरीले २१ लाख नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय र दुई नेपाली नागरिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारतबाट नेपालतर्फ रकम ल्याउदै गरेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् । छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका उनिहरुलाई बरामद नगदसहित सोमबार सार्वजनिक गर्दै प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको जनाएको छ ।
प्रहरीद्धारा पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ७ का आसिफ मनि चेन्जरका संचालक ३१ वर्षीय कलामुदिन अंसारी, ३९ वर्षीय मेराजुल हक अंसारी, भारत बिहार मोतीहारीका थाना हरपुर पञ्चायत नायक टोल बस्ने रञ्जित सर्राफ रहेका छन् । फाल्गुन १८ गते कलैया ६ स्थित अस्पताल रोडबाट प्रहरीले पाँच लाख नगदसहित सर्राफलाई पक्राउ गरेको थियो । सर्राफलाई नियन्त्रणमा लिएपछि प्रहरीले मनि चेन्जरका संचालकलाई पक्राउ गरेको हो ।
यसैगरी फाल्गुन २० गते भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले बिश्रामपुर गाउँपालिका १ छतवाबाट १६ लाख ९ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोतिहारी स्यामपुरका ४२ वर्षीय कृष्ण लाल साह र मोतिहारी अरेराका ४० वर्षीय रवीशंकर सिंह रहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
फरक स्थान र मितिमा पक्राउ परेका उनिहरुसंग बैंकको ईजाजत पत्र नरहेको बताउँदै प्रहरी उपरीक्षक काफ्लेले बैंक तथा वित्तिय संस्था सम्बन्धि कसुरमा कारवाही प्रक्रिया थालिएको जानकारी दिए ।