जीतपुरसिमरा वडा नम्बर २० द्वारा आफ्नै भवनबाट सेवा सुरु
सिमराः करिब ७ बर्षदेखी भाडाको भवनमा वडा कार्यालय सञ्चालन गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० ले बिहीवारदेखी आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । ७६ लाख लगानीमा नव निर्मित वडा भवनको उद्घाटन बारा ४ (क) का प्रदेशसभा सदस्य देवनारायण चौधरीले गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य चौधरीले बिभिन्न समस्या आए तापनि स्थानीय तहको स्थापना पछि बनेको वडा कार्यालय भवनबाट अब जनताले सहज रुपमा सम्पूर्ण सेवा लिन पाउने भन्दै खुसी व्यक्त गरे ।
वडावासीहरूलाई आफ्नै भवनबाट सेवा दिन पाएकोमा वडाध्यक्ष रसुल मियाँ अन्सारीले खुशी व्यक्त गरेका छन । भाडाको भवनवाट प्रदान गर्दा कठिनाइ झेल्नुपरेको र अहिले आफ्नै वडा कार्यालयको भवनवाट सेवा प्रदान गर्दा जनतालाई सहज हुने बताए । उनले पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष ३६ लाख र तेस्रो वर्ष १० लाख वडा कार्यालयको बजेटले २ तलाको वडा कार्यालय भवन निर्माण गरिएको बताए ।
वडा कार्यालयका जनप्रतिनिधिहरु कार्यालय समयमै उपस्थित भएर जनताहरुलाई सौहर्दपूर्ण वातावरणमा सेवा प्रदान गर्न जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले अनुरोध गरेका थिए ।
सो कार्यक्रममा उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद, वडा सदस्य, वडा सचिव हरिकिशोर साह, वडा नं १२ का वडाध्यक्ष श्यामबाबु खाँ, वडा नं १३ का वडाध्यक्ष हेमनारायण चौधरी सहितका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।