जीतपुरसिमरा क्रिकेट कपको विजेताले एक लाख पाउने


eShilalekh

२८ फाल्गुन २०८०, सोमबार १७:३०

सिमरा: चैत्र पहिलो साता सुरु हुने जीतपुरसिमरा क्रिकेट कपको विजेताले एक लाख पाउने भएका छन् । आयोजक अभियान नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

आयोजकका अनुसार चैत्र ३ गतेदेखि जीतपुरसिमरा-४ स्थित औराहमा हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । राउन्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा आयोजकसहित ६ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा आयोजक टिम जीतपुरसिमरा स्पोर्ट्स क्लब, बारा, मकवानपुर, पर्सा, चितवन, रुपन्देहीको सहभागिता रहने संयोजक सोमलाल बम्जनले जानकारी दिए । चैत्र १० गतेसम्म आयोजना हुने प्रतियोगिताको प्लेयर अफ दि सिरिजले १० हजार नगद र उत्कृष्ट बलर तथा ब्याट्सम्यानलाई समेत पुरस्कृत गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताका लागि यतिबेला औराहस्थित विशेष आर्थिक क्षेत्र (सेज) अगाडिको मैदान तयारी भइरहेको छ । आयोजकले पाँच लाख भन्दा बढीको लागतमा मैदानको तयारी गरिरहेको हो ।

दक्ष खेलाडी उत्पादन र क्रिकेट गतिविधिलाई निरन्तरता दिने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताउँदै आयोजकले अनुमानित २४ लाख खर्च हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, एमाले युवा नेता त्रिलोक बिक्रम साह, रवीन्द्र खकुरेल, अभियान नेपालकी अध्यक्ष लक्ष्मी तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्