चर्को आवाजमा डिजे बजाउने व्यक्ति प्रहरी नियन्त्रणमा


eShilalekh

२९ फाल्गुन २०८०, मंगलवार १५:०७

सिमराः बारा प्रहरीले सार्वजनिक स्थलमा चर्को ध्वनीमा डिजे बजाउने व्यक्तिलाई पक्राउ गरेको छ । ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउदै गरेको अवस्थामा सोमबार नेपाल सुनिल ब्याण्ड कलैया बाराका ब्याण्ड सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

नेपाल सुनिल ब्याण्ड कलैया ब्याण्डको डिजे सिस्टम र ना.३च ८३१३ नम्बरको पिकअप गाडी सहित कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर बस्ने वर्ष ३० को मनौबर मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी पक्राउ पर्नेमा फरक डिजे ब्याण्डको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बस्ने वर्ष २० को मुन्ना कुमार साह र वडा नम्बर १२ बस्ने मोहित चौधरी रहेको प्रहरीले जनाएको छ । चर्को अवाजमा डिजे बजाउदै गरेको अवस्थामा लु.१च ३३३३ नम्बरको पिकअप गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रवक्ता न्यौपानेले बताए।

जिल्ला प्रहरी कार्यालय बाराले ध्वनी प्रदुषणले सामाजिक वातावरण र मानव स्वास्थ्यमा असर परेको भन्दै प्रहरीले बिहीवार एक प्रेस विज्ञप्ति जारी गरेर डिजेको प्रयोग नगर्न अनुरोध गरेको थियो ।

प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता दधिराम न्यौपानेद्धारा जारी प्रेस विज्ञप्तिमा डिजेको बढ्दो प्रयोगका कारण समस्या उत्पन्न भईरहेको भन्दै अब उप्रान्त डिजेको प्रयोग नगर्न र गरेमा कानुन बमोजिम कारवाही हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्