दाईजोमा सुनको सिक्री नपाउँदा रोकियो विवाह, बेहुला पक्राउ


eShilalekh

२९ फाल्गुन २०८०, मंगलवार १७:०४

सिमराः दाइजोमा सुनको सिक्री नपाउँदा बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहले सोमबार राति विवाह रोकेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

दाइजोमा नगद १२ लाख, मोटरसाइकलवापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक-एक थान सुनको अ‍ौ‌ठी र हनुमानको माला लिएका उनले मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेको बेहुलीको परिवारले जनाएका छन । बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि साह पक्राउ परेका हुन्। साह वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित बेहुलीको घरमा पुगेर प्रहरीले साह, उनका दाइ र भिनाजुलाई नियन्त्रणमा लिएको थियो । स्थानीयका अनुसार मधेशी रीतिरिवाजबमोजिम बेहुलाको परछावन र बरमाला हुँदासम्म कुनै विवाद भएको थिएन । जन्तीले सहज तरिकाले नास्ता र खानासमेत खाएका थिए । बिहेका लागि बेहुला मण्डपमा पुग्दा विभिन्न प्रकारका बहाना बनाउँदै करिब २ बजे राति बेहुला साहले बिहे नगर्ने आलटाल गर्न लागेको बेहुली पक्षको भनाई छ ।

साहुसंग चर्को ब्याजमा ऋण लिएर विवाहको लागि सम्पूर्ण तयारी गरेपनी छोरीको विवाह नहुँदा बेहुलीका बुवा सुखल साह निराश भएका छन् । ‘जन्तीको स्वागत, खाना नास्ता र माँग अनुसारको सबै व्यवस्था गरेको थियो’ उनले भने ‘अचानक सिक्रीको माँग गरेपछि अहिले व्यवस्था हुन सकेन, बिहे पछि दिन्छौ भन्दा विवाद बढ्यो’ ।

यता बेहुलीले दाईजोको लोभ गर्ने केटासंग विवाह नगर्ने अडान लिएकी छिन् । ‘एउटा सिक्रीको लागी बिहे रोक्ने केटाले भोलीको दिनमा मलाई दाईजोको लागि थप पीडा पनि दिन सक्छ’ उनले भनिन् ‘मलाई सामाजिक केटा र सामाजिक परिवारमा विवाह गर्नु छ’ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले घटनाको सत्यतथ्य आफूले बुझिरहेको बताए । उनले दाइजोका कारण विवाह रोकिएकाले पीडकलाई कानुनी कारबाही गर्नुपर्ने बताए । ढुङ्गेलले भने, ‘बेहुली पक्षले जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामी बेहुला पक्षमाथि कारबाही गर्छो’ । अहिले प्रकाउ परेकाहरुलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्