बाराबाट भन्सार छलीका सामान सहित ट्रक पक्राउ
सिमराः बारा प्रहरीले गएराती ५२ लाख भन्दा बढी मूल्यको भन्सार छलीका सामान लोड रहेको दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको जाँच अभियान अन्तर्गत फरकफरक स्थानबाट ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीले ५२ लाख ६० हजार ३८८ मूल्यका भन्सार छलीका सामान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक डिएसपी दधिराम न्यौपानेले बताए । ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा वडा नं ७ जीतपुरबाट ना ३ ख ७६५६ नम्बरको मालवाहक ट्रक पक्राउ गरेको उनले बताए ।
वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको उक्त ट्रकमा लोड रहेको १८ लाख ९४ हजार ८४ रुपैयाँका सामानको बिल शंकास्पद देखिएकोले नियन्त्रणमा लिइएको डिएसपी न्यौपानेको भनाइ छ ।
यसैगरि प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको टोलीले जीतपुरसिमरा वडा नं १ बाट ना ३ ख ४३६४ नम्बरको ट्रक बरामद गरेको छ । ट्रकमा लोड रहेको ३३ लाख ६६ हजार ३०४ रुपैया बराबर खुद्रा सामानको बिल बिजक शंकास्पद देखिएको भन्दै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका ट्रकहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरीले जानकारी दिएको छ ।