एक दिने कुष्ठरोग एवं सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न


eShilalekh

१ चैत्र २०८०, बिहीबार १७:४३

सिमरा: द लेप्रोसी मिसन नेपालको आयोजनामा बाराका पत्रकारहरु संग कुष्ठरोग एवं सुरक्षा संरक्षण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सिमरामा सम्पन्न भएको छ । कार्यक्रममा डा. प्रकाश पौडेलले छाला तथा सतहमा असर गर्ने ब्याक्टेरीया शरिरमा प्रवेश गरेपछी यो रोग लाग्ने बताए ।

कुष्ठरोगको सुरक्षा संरक्षण सम्बन्धी रोगको अवस्था, रोकथामका उपाय, रोगबाट बच्ने उपाय,रोग नियन्त्रणमा समुदायको भुमिका लगायतको बिषयमा दि लेप्रोसी मिसन नेपालका जिल्ला सहजकर्ता रामहरी रेग्मीले चर्चा गरेका थिए ।

पत्रकारहरु देशको चौथो अङ्ग भएकोले पत्रकारहरुलाई नै कुष्ठ रोग सम्बन्धी समुदायमा जनचेतना संदेश प्रवाह गर्ने उदेश्यका साथ कुष्ठरोग एवं सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाराका क्षयकुष्ठ अधिकृत शम्भुलाल कर्णले बताए ।

कुष्ठरोगको लक्षण
छालामा रातो वा फुस्रो रंगको दाग देखा परेमा , अनुहारको छाला र कानको लोती बाक्लो र चम्कीलो देखिएमा, शरिरका विभिन्न भागमा गिर्खा देखिएमा कुष्ठरोग शंका गर्न सकिन्छ । यस्तै आँखी भौं झरेमा वा पातलो भएमा, हात खुट्टाका औंलाहरु बाङ्गो भएमा, हात खुट्ट लत्रिएमा , हत्केला वा पैतालामा नदुख्ने घाउ देखा परेमा , हत्केलाका मांशपेसीहरु सुकेर गएमा र नाक थेप्चो भएको आधारमा कुष्ठरोग लागेको भनी शंका गनुपर्ने डा. पौडेलले बताए ।

कसरी सर्छ
रोगीले सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा कुष्ठरोग अरु मानिसलाई सर्नसक्छ । रोगीको श्वास प्रश्वासको माध्यमबाट अन्य मानिसमा सर्ने कुष्ठ रोग लागेमा मानिसलाई अंगभंग बनाईदिन्छ । शरिरका विभिन्न भागमा नचिलाउने खालका लाटाफुस्रा दाग धब्बा देखिएमा तुरुन्त स्वास्थ्य संस्था जानु पर्ने हुन्छ ।

उपचार
कुष्ठरोगीको उपचार प्रयोजनका लागि पौसिबेसिलरी र मल्टिबेसिलरी गरी रोगलाई दुई समुहमा बर्गीकरण गरिन्छ । शरीरमा कतिवटा वास्तविक रङ गुमेको, लाटिएको दाग–धब्बा छ भन्ने कुराको आधारमा वर्र्गीकरण गरिन्छ । पौसिबेसिलरीमा पाँच वा सो भन्दा कम हुन्छ भने मल्टिबेसिलरीमा पाँचवटाभन्दा बढी दागधब्बा हुने डा. पौडेलले बताए ।

रोगीले रिफामपिसिन, डापशोन र क्लोफाजेमिन नामक औषधी चिकित्सकको सल्लाहमा सेवन गर्नु पर्ने छ । रोगको आधारमा यो औषधी ६ देखी २४ महिना सेवन गर्नु पर्ने हुन्छ । कुष्ठरोगको औषधी सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने उनले बताए ।

आर्थिक बर्ष २०७९।८० का अनुसार देशभरीमा २ हजार ५२२ जना कुष्ठरोगी छन । बारा जिल्लामा मात्रै ६३ जनामा यो संक्रमण पाईएको छ, भने जिल्लाको पचरौता नगरपालिकामा सबैभन्दा धेरै ९ जना रोगी रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रम आईरिस एडको आर्थीक सहयोगमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्