एमाले बाराको अध्यक्षमा साह, सचिवमा पाण्डे


eShilalekh

३० पुष २०७८, शुक्रबार ११:१०

सिमराः नेकपा एमाले बाराको अध्यक्षमा विनोद साह निर्वाचित भएका छन् । कलैयामा सम्पन्न दशौं जिल्ला अधिवेशनबाट साह सर्वसम्मतरुपमा अध्यक्ष चयन भएका हुन् ।

अधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले एक सय ३५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गर्दै अध्यक्षको जिम्मेवारी साहलाई सुम्पिएको हो । साह यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए । अध्यक्ष साहसंगै जिल्ला कमिटीको उपाध्यक्षमा टिना सुवेदी, सचिव अध्यानन्द पाण्डे, सहसचिव अमृत शर्मा बजगाई र भुलन चौधरी चयन भएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला ईन्चार्ज बलवीर चौधरीले एक सय ३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका हुन् । जिल्ला कमिटीमा उपमहानगरपालिकाबाट सात, नगरपालिकाबाट पाँच र गाँउपालिकाबाट तीन जना प्रतिनिधिलाई सदस्यमा राखिएको छ ।

जिल्लाको १६ स्थानिय तहमध्ये अन्य पालिकाको प्रतिनिधि चयन गरिएपनि जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाबाट प्रतिनिधित्व गर्ने सदस्यको टुंगो लगाउन बाँकी छ । अध्यक्ष मण्डलका अध्यक्ष चौधरीले दुई उपमहानगरपालिकाको हकमा केही दिनमै टुंगो लगाउने बताएका छन् । नवनिर्वाचित पदाधिकारी र सदस्यको सपथ ग्रहण माघ ३ गते गर्ने चौधरीले जानकारी दिएका छन् ।

यसअघि बन्दसत्रमा पेश गरिएको सांगठानिक र आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको छ । कलैयास्थित जानकी सिनेमा हलमा सम्पन्न जिल्ला अधिवेशनमा जिल्ला कमिटीका चार सय १५ सहित करिब आठ सय प्रतिनिधि सहभागी थिए । अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्