पथलैया कप: बारा ११ र निजगढ विजयी


eShilalekh

३ माघ २०७८, सोमबार २१:१३

पथलैया: बाराको पथलैयामा जारी प्रथम पथलैया कप फूटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बारा ११ र निजगढ युवा क्लब विजयी भएका छन् ।

पथलैयास्थित श्रीकृष्ण मन्दिर खेल मैदानमा भएको पहिलो खेलमा बारा ११ ले सिमरा युनाईटेड क्लबलाई र दोस्रो खेलमा निजगढले आकृति युवा क्लब अमलेखगंजलाई पराजित गरेको हो । दुईमध्ये एक खेलको नतिजा टाईब्रेकर र अर्को खेलको नतिजा सडन डेथबाट निस्किएको हो ।

प्रतिस्पर्धात्मक पहिलो खेलमा दुवै टिमले निर्धारित समयमा गोल गर्न नसरेपछि खेल सिधै टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा बारा ११ र सिमरामाथी ५-४ को नतिजा निकालेको हो । बारा ११ का गोलरक्षक दिलमणी चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी दोस्रो खेल पनि निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समयमा दुवै टिमले १-१ को बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकर पनि बराबरीमा सकिएपछि निजगढले सडन डेथमा जित हात पारेको हो ।

यसअघि निर्धारित समयमा निजगढका लागि सृजल गौतम र अमलेखगंजका लागि सुजल डंगोलले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच सृजल गौतम घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलवार सुन्दरबस्ती युवा क्लब डुमरवाना र महेन्द्रनगर युवा क्लब पिलुवाबीच हुनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को सहयोग र श्रीकृष्ण क्लबको आयोजनामा संचालन भईरहेको प्रतियोगितमा जिल्लाभरीका १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्