पर्यावरणका लागि मेची–महाकाली पैदल यात्रामा रहेका युवालाई पथलैयामा स्वागत
सिमराः पर्यावरण संरक्षणका लागि जागरण अभियान संचालन गर्ने उदेश्यसहित मेची–महाकाली पैदल यात्रामा रहेका पाँच युवा पथलैया आईपुगेका छन् । चैत्र २३ गते मेची पुलबाट पैदल यात्रा सुरु गरेका उनिहरु पथलैया आईपुगेका हुन् ।
पर्यावरण जोगाउनुपर्ने सन्देश फैलाउँदै दमकका सुवास सुवेदी, पदम भण्डारी, उमेश राई, दिनेश भण्डारी र प्रकाश चौलागाईं मेचीदेखि महाकालीसम्मको ६० दिने पैदल यात्रामा छन् । ‘प्रतिव्यक्ति ८ वटा विरुवा रोपौं, पर्यावरण संरक्षणमा योगदान पुर्याऔं’ भन्ने नारासहित पैदल यात्रा गरिरहेका उनिहरुलाई पथलैयामा स्वागत गरिएको थियो ।
पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयले स्वागत गर्दै उनिहरुलाई यात्राको सफलताका लागि शुभकामना दिएका थिए । यसअघि उनिहरुलाई निजगढस्थित गौरीशंकर माध्यमिक विद्यालयमा समेत स्वागत गरिएको थियो ।
पैदल यात्राका क्रममा १२ हजार भन्दा बढीसंग प्रत्यक्ष साक्षात्कार गर्ने र १० लाख भन्दा बढीसम्म पर्यावरण जोगाउनुपर्ने सन्देश पुर्याउने उदेश्य उनिहरुले लिएका छन् । पथलैयामा सोमबार आईपुगेका पैदल यात्रीलाई मंगलबार एक कार्यक्रमकाबीच विदा गरिएको थियो ।