पथलैया कपः सहयात्री युवा क्लब सेमिफाईनलमा


eShilalekh

५ माघ २०७८, बुधबार २०:१२

पथलैया: सहयात्री युवा क्लब प्रथम पथलैया कप फूटवल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । पथलैयास्थित श्रीकृष्ण मन्दिर मैदानमा बुधवार भएको दोस्रो क्वार्टरफाईनल खेलमा कोसेली युवा क्लबलाई टाईब्रेकरमा पराजित गर्दै सहयात्री क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निस्किएको हो । टाईब्रेकरमा सहयात्रीले कोेसेली क्लबलाई ३–२ ले पराजित गर्‍यो ।

यसअघि खेलको १३औं मिनेटमा सहयात्रीका अनिश पोखरेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको केही मिनेटमै मुन्ना दासले गोल गर्दै अग्रता दोब्बर पारे । खेलमा २–० को अग्रता लिएको सहयात्री सम्हालिन नसक्दा कोसेली खेलमा फर्किएको थियो ।

कोसेलीका लागि खेलको १७औं मिनेटमा निमेश मोक्तानले गोल गर्दै खेल २–१ को स्थितीमा पुर्‍याए । दोस्रो हाफमा कोसेलीका लागि सुवोध लामाले गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । खेलको म्यान अफ दि म्याच सहयात्री क्लबका गोलरक्षक तौबिज मियाँ घोषित भए ।

यसअघि पहिलो क्वार्टरफाईनल खेलमा सुन्दरवस्ती युवा क्लबलाई २–० ले पराजित गर्दै महेन्द्रनगर युवा क्लब सेमिफाईनल प्रवेश गरिसकेको छ । महेन्द्रनगरको जितमा आकाश राना एक्लैले दुई गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत दिव्यज्योती क्लब पथलैया र बारा ११ बीच तेस्रो क्वार्टरफाईनल खेल हुने आयोजक श्रीकृष्ण युवा क्लबका सदस्य बबिन सुब्बाले जानकारी दिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को मुख्य सहयोगमा आयोजना भईरहेको प्रतियोगितामा जिल्लाभरीका १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्