नबिल बैंक चोरी प्रकरणः दुई भारतीयसहित चार जना पक्राउ, केही रकम बरामद
सिमराः वीरगन्ज बाइपासस्थित नबिल बैंकबाट करोडौं रकम चोरी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुई भारतीय र दुई नेपाली नागरिक रहेका छन् ।
प्रहरीले उनिहरुको साथबाट चोरिएको एक करोड ३४ लाख ६५ हजारमध्ये केही रकम समेत बरामद गर्न सफल भएको छ । भारतको घोडासनमा लुकाएर राखेको अवस्थामा प्रहरीले रकम बरामद गरेको हो ।
बरामद गरिएको रकम कति छ भन्ने खुल्न सकेको छैन । घटनालगत्तै अनुसन्धानमा जुटेको प्रहरीले रौतहट मौलापुर नगरपालिका ७ पथराका छोटेलाल जयसवाल र सञ्जय जयसवाललाई पक्राउ गरेको हो । रात्रीबसमा चढेर काठमाडौं जान लागेको अवस्थामा प्रहरीले रौतहटको मौलापुरबाट मंगलबार साँझ उनिहरुलाई पक्राउ गरेको हो । हाल उनिहरु पर्सा प्रहरीको हिरासतमा छन् ।
उता चोरीमा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले भारतको घोडासहनबाट दुई भारतीय नागरिक ललन कुमार र मन्टु पासवानलाई नियन्त्रणमा लिएको छ । हाल भारतीय प्रहरीको नियन्त्रणमा रहेका उनिहरुलाई नेपाल ल्याउने प्रयास भईरहेको छ । उनिहरुको साथबाट रकम भेटिएको भन्ने जानकारी आएपनि पर्सा प्रहरीले पुष्टि गरेको छैन ।
चोरीमा पाँच जनाको संलग्नता रहेको थियो । जसमध्ये एक जना अझै फरार छन् । बैंकमा रहेको सिसिटिभी फुटेजमा पाँच जनाले पैसा राखेको बाकस फोडेर रकम चोरी गरेका थिए । उनिहरुले बोरामा हालेर पैसा लगेको दृश्य सिसिटिभीमा कैद भएको थियो ।
प्रहरी स्रोतका अनुसार चोरीको अघिल्लो दिन उनिहरु वीरगन्ज बसपार्कस्थित रानीपोखरी होटलमा बसेको खुल्न आएको छ । पक्राउ परेकामध्ये छोटेलालको नाममा कोठा लिएर उनिहरु होटलमा बसेका थिए ।
पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापाले बैंक चोरी घटनामा संलग्नमध्ये केहीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले रकम के कती बरामद भयो भन्ने पुष्टि हुन बाँकी रहेको जानकारी दिएका छन् ।