पथलैया कपः सेमिफाईनल समिकरण पूरा


eShilalekh

७ माघ २०७८, शुक्रबार २०:०८

पथलैयाः बाराको पथलैयामा जारी प्रथम पथलैया कप फूटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ । प्रतियोगिता अन्तर्गत शुक्रवार भएको अन्तिम क्वार्टरफाईनल खेलमा निजगढ फूटवल क्लबले जित हात पारेसंगै अन्तिम चारको टुंगो लागेको हो ।

निजगढले सेमिफाईनल यात्रा तय गर्ने क्रममा सहयोगी फूटवल क्लब कलैयालाई सडन डेथमा स्तब्ध पारेको छ । निर्धारित समयमा गोलरहित बराबरी खेलेका दुवै टिमले टाईब्रेकरमा समेत ४-४ को नतिजा ल्याएपछि खेल सडन डेथमा पुगेको हो । खेलको म्यान अफ दि म्याच निजगढका गोलरक्षक रचित थापा घोषित भए ।

सडन डेथमा कलैयालाई पन्छाउन सफल निजगढले बारा ११ संगको सेमिफाईनल भिडन्त पक्का गरेको छ। तेस्रो क्वार्टरफाईनल खेलमा दिव्यज्योती युवा क्लब पथलैयालाई पराजित गर्दै बारा ११ ले अन्तिम चारको यात्रा तय गरेको थियो ।

प्रतियोगिता अन्तर्गत शनिवार पहिलो सेमिफाईनल खेल महेन्द्रनगर युवा क्लब पिलुवा र सहयात्री युवा क्लब डुमरवानाबीच हुनेछ । महेन्द्रनगरले सुन्दरबस्ती युवा क्लब डुमरवाना र सहयात्रीले कोसेली युवा क्लब हुलासलाई पन्छाउदै अन्तिम चारको यात्रा तय गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ को कार्यालयको मुख्य सहयोगमा श्रीकृष्ण युवा क्लब, पथलैयाले आयोजना गरेको प्रतियोगितामा जिल्लाभरीका १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्