शिक्षिका निधनको शोकमा जीतपुरसिमराका निजी विद्यालय बन्द, विज्ञान विषयको अब्बल छात्रा थिईन् दीक्षा
सिमराः साना किसान शिक्षा सदनकी शिक्षिका दीक्षा सेढार्ईको निधनको शोकमा आइतबार जीतपुरसिमराका निजी (संस्थागत) विद्यालयले शोक विदा दिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका १४ रजघट्टास्थित विद्यालयमा विज्ञान विषय अध्यापन गराउँदै आएकी करिब १९ वर्षीया दीक्षाको शनिबार साँझ निधन भएको हो ।
उनको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । विद्यालयले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा दिनभर सहभागी भएर घर फर्किएकी दीक्षा साँझ मृत भेटिएकी हुन् ।
विद्यालयका संचालक अध्यक्ष विदुर खड्काका अनुसार ट्युसन पढ्न आउने विद्यार्थीले झुण्डिएको अवस्थामा देखेपछि अन्यलाई खबर गरेका थिए । पढाईमा अब्बल दीक्षाले साँझको समयमा ट्युसन पढाउथिन् ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराबाट यसै वर्ष कक्षा १२ को परीक्षा दिएकी दीक्षा विज्ञान विषयको उत्कृष्ट विद्यार्थी थिईन् । सामान्य परिवारकी उनि विद्यालयका शिक्षकहरुको आग्रहपछि तीन दिनदेखि विद्यालयमा पढाउन थालेकी थिईन् ।
विद्यालयको कार्यक्रममा रमाउँदै फोटो र भिडियो समेत खिचेकी उनि सबैसंग खुशी हुँदै छुट्टिएकी थिईन् । तर उनि घर फर्केको केही घण्टापछि मृत्युको दुःखद् खबर आएको विद्यालयका अध्यक्ष खड्काले बताए ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङले निकै अब्बल विद्यार्थी गुमाउनुपरेको बताईन् । दीक्षाका अभिभावक ठेलामा चटपटेको व्यापार गर्दै आएका छन् ।