वैवाहिक वर्षगाँठमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
सिमराः लामो समयदेखि बाराको सिमरामा व्यवसाय गर्दै आएका एक दम्पतिले वैवाहिक वर्षगाँठको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । जीतपुरसिमरा २ स्थित युआर अटोमेटिक लन्ड्री र युआर प्रिमियम गोल्ड मसला चियाका संचालक उमेश चौलागाई र रिता कंडेलले उक्त सामाग्री सहयोग गरेका हुन् ।
आफ्नो १७औं वैवाहिक वर्षगाँठको अवसर पारेर चौलागाई दम्पतिले जीतपुरसिमरा २ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई एक वर्षसम्म प्रयोग गर्न सकिने गरी कपी, कलम, पेनसिल, कटर, इरेजरलगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनिहरुले सामाग्री विद्यार्थीलाई वितरण गरेका हुन् ।
उक्त कार्यक्रममा चौलागाई दम्पतिसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडासदस्य बिशाल घिमिरे, प्रध्यानाध्यापक बाबुराम घिमिरे, व्यवस्थापन समितिका सदस्य मनहरी अधिकारी, हेमराज न्यौपाने, भिमप्रसाद खकुरेल, निर्मला लामा, बिना बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
चौलागाई दम्पतिले सिमरामा लण्ड्री र चियापत्तीको व्यवसाय गर्दै आएका छन् । व्यवसायसंगै सामाजिक गतिविधिमा उनिहरुको सक्रियता यस अघि पनि रहदै आएको छ । समाजको हरेक क्षेत्रमा सहयोग गरेर आफ्नो उपस्थिती देखाउदै आएका दम्पतिले यसवर्ष विद्यार्थीलाई सहयोग गरेका हुन् ।
२०४९ सालमा स्थापना भएको उक्त विद्यालयमा करिब एक सय ५० विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेर उदाहरणीय काम गरेको भन्दै विद्यालयका शिक्षकले चौलागाई दम्पतिको प्रशंसा गरेका थिए ।