कलैया टी–२० मेयर कप क्रिकेट सुरुः आयोजक र नेशनल इन्फोटेकको बिजयी सुरुवात


eShilalekh

२ जेष्ठ २०८१, बुधबार २०:५१

कलैयाः बाराको कलैयामा बुधवारदेखि टी–२० मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । कलैया क्रिकेट क्लब र बारा जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन दुई खेल भएका छन् ।

सिद्धेश्वर खेल मैदानमा भएको पहिलो खेलमा वीरगन्जको नेशनल इन्फोटेक कलेज बिजयी भएको छ भने दोस्रो खेलमा आयोजक कलैया क्रिकेट क्लबले बिजयी सुरुवात गरेको छ । नेशनले इन्फोटकले गौर क्रिकेट क्लब र कलैयाले सप्तरी क्रिकेट संघलाई पराजित गरेको हो ।

उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गौरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन जोडेको थियो । उसका लागि शोबेन्द्र पासवानले सर्वाधिक २७ रन बनाएका थिए । नेशनल इन्फोटेकका सम्साद मन्सुरीले तीन, सोनु कुमार ठाकुरले दुई, रञ्जित कुमार र नसरुदिन अंसारीले समान एक–एक विकेट लिए ।

एक सय ३१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेशनले इन्फोटेकले १९.५ ओभरमा जित हात निकाल्यो । नेशनल इन्फोटेकको जितमा अनुज चौहानले ४० रन बनाए भने नसरुदिनले २६ रनको योगदान गरे । वीरगन्जका ओपनर इमरान शेख र सन्तोष कार्कीले समान १६/१६ रन जोडे । खेलको प्लेयर दि म्याच सम्साद मन्सुरी घोषित भए ।

यसैगरी दोस्रो खेलमा आयोजक कलैयाले सप्तरीविरुद्ध दुई रनको रोमाञ्चक जित हात पार्यो । टस जितेर पहिले ब्याटिङ रोजेको कलैयाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४२ रन जोडेको थियो । कलैयाका अरनिको यादवले ३३, मेघराज महराले ३२, कप्तान तृतराज दास र सेराज हवारीले २३/२३ रन बनाए । सप्तरीका लागि नितेशकुमार यादव बी, विकास दास र राहुल विकले समान २/२ विकेट लिए ।

एक सय ४३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सप्तरीले सम्पूर्ण विकेट गुमाउँदै २० ओभरमा एक सय ४० रन मात्रै बनाउन सक्यो । सप्तरीको ओपनर रविन सिंहले ४२, रोहन विकले ३४ र अनिल यादवले २१ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । कलैयाको जितमा कुमार थापाले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा एक मेडनसहित १६ रन खर्चिएर तीन विकेट लिए । यस्तै तृतराज दासले दुई, भुलावन सहनी र निखिल सिंहले १/१ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच बलर कुमार थापा घोषित भए ।

प्रतियोगिता अन्तर्गत बिहीबार सप्तरी र भारत मोतिहारीको योङ ११ भिड्नेछन् भने दोस्रो खेलमा मकवानपुर क्रिकेट संघ र गौर क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछन् । यसैगरी प्लेयर अफ दि सिरिजले १० हजार, उत्कृष्ट ब्याटरले पाँच हजा र उत्कृष्ट बलरले पाँच हजार नगद प्राप्त गर्ने आयोजक क्लबका सुभाष जयसवालले जानकारी दिएका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले गरेका थिए । कलैया उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगितालाई सफल बनाउन ग्यालेक्सी पब्लिक स्कुल, बाल एकता स्कुल र कटिया स्टेशनले समेत सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्