पाँच महिनाको छोराको हत्या गरी फरार भएकी महिला पक्राउ
वीरगन्जः आफ्नो पाँच महिने छोराको हत्या गरी फरार रहेकी एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १७ अलौ बस्ने अमरजित कुमारकी २२ वर्षीया श्रीमती आरती कुमारी रहेकी छिन् ।
करिब १० महिना अघि उनले वीरगन्जस्थित घरमा पाँच महिनाको छोराको घाटी थिचेर हत्या गरेकी प्रहरीको भनाई छ । साउन २७ गतेको उक्त घटनापछि फरार रहेकी उनलाई पर्सा जिल्ला अदालतले कार्तिक १९ गते पक्राउ पूर्जी जारी गरेको थियो ।
अदालतबाट पक्राउ पूर्जी जारी भएपछि खोजी गरिहेको प्रहरीले आरतीलाई १० महिनापछि पक्राउ गरेको हो । आरती भारत पूर्वी चम्पारण थाना रक्सौल सिहपुर हरैया एकडर्वा टोलमा बस्दै आएकी थिईन् । उनलाई वीरगन्ज आएका बेला पक्राउ गरेको प्रहरीको पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए ।