कलैया टी–२० मेयर कप क्रिकेटः मोतिहारी र गौर बिजयी
कलैयाः बाराको कलैयामा जारी टी–२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा योङ ११ मोतिहारी र गौर क्रिकेट क्लब बिजयी भएका छन् । मोतिहारीले सप्तरी क्रिकेट संघलाई आठ विकेट र गौरले मकवानपुर क्रिकेट संघलाई नौ विकेटले पराजित गरेको हो ।
सिद्धेश्वर खेल मैदानमा सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको सप्तरीले १२.३ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ४७ रन मात्रै जोड्न सकेको थियो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।
सप्तरीलाई सस्तोमा समेट्ने क्रममा मोतिहारीका अफान गनीले चार ओभरमा २२ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी फैजल गनी र देवाशिष कुमारले समान २/२ विकेट लिए ।
४८ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मोतिहारीले ४.४ ओभरमा जित हात पारेको थियो । मोतिहारीका आशुतोष पाण्डेले १५ बलमा २९ रन जोडे । खेलको प्लेयर अफ दि म्याच पाँच विकेट लिएका गनी घोषित भए ।
यसैगरी दोस्रो खेलमा गौरविरुद्ध टस जितेर ब्याटिङ रोजेको मकवानपुर पनि सस्तैमा समेटियो । मकवानपुरले १४.२ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनायो । उसका लागि आस्तिक ढकालले १९, सक्षम वस्ताकोटीले १६ र रिजन ढकालले ११ रन बनाए । मकवानपुरका अन्य ब्याटर चल्न सकेनन् । गौरका लागि महम्मद रियाजले तीन विकेट लिदा रैयन आलम, आशिष झा र अरविन्द बैठाले समान २/२ विकेट लिएका थिए ।
७४ रनको लक्ष्य पाएको गौरले १२.४ ओभरमा जित निकाल्यो । गौरका लागि ओपनर बिजय यादवले अविजित ३१ र कप्तान सन्नी साहले २८ रन बनाए । मकवानपुरका रिजन ढकालले एक विकेट लिए । गौरका महम्मद रियाज प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेलमा कलैया क्रिकेट क्लब र मोतिहारी भिड्नेछन् भने दोस्रो खेल मकवानपुर र नेशनल इन्फोटेक कलेज वीरगन्जबीच हुनेछ । ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछन् ।
कलैया उपमहानगरपालिकाको सहयोगमा कलैया क्रिकेट क्लब र बारा जिल्ला क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन बुधवार आयोजक कलैया र नेशनल इन्फोटेक बिजयी भएका थिए ।