कलैया टी–२० मेयर कपः कलैया र नेशनल इन्फोटेक कलेज बिजयी
कलैयाः बाराको कलैयामा जारी टी–२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक कलैया क्रिकेट क्लब र नेशनल इन्फोटेक कलेज वीरगन्ज बिजयी भएको छ । कलैयाले भारत मोतिहारीको योङ ११ लाई पाँच विकेट र नेशनल इन्फोटेकले मकवानपुर क्रिकेट संघलाई ४२ रनले पराजित गरेको हो ।
सिद्धेश्वर खेल मैदानमा भएको पहिलो खेलमा कलैयाविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको मोतिहारीले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै एक सय आठ रन जोडेको थियो । मोतिहारीका लागि समिर शेरले २८, अफान गनीले २३ र सुदर्शन कुमारले २२ रन बनाए । कलैयाका कप्तान तृतराज दास, भुलावन सहनी, साहब आलम, बसिर अहमद र कुमार थापाले २/२ विकेट लिए ।
एक सय ९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कलैयाले १४.१ ओभरमा जित हासिल गरेको हो । कलैयाका लागि तृतराज दासले ४५ रन बनाए । उनले ३१ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यसैगरी साहिल पटेलले २९ र मेघराज महराले १९ रन बनाए । मोतिहारीका अफान गनीले दुई विकेट लिए । कलैयाका कप्तान दास प्लेयर अफ दि म्याच घोषित भए ।
यसैगरी दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वीरगन्जले १९.३ ओभरमा सबै विकेट गुमाउदै एक सय रन जोडेको थियो । वीरगन्जका इमरान शेखले १९, सफवान अलीले १२, नसरुदिन अंसारी र सम्साद मन्सुरीले समान ११÷११ रन बनाएका थिए । मकवानपुरका शुभ कंसकार, साकार गजुरेल र रोहित ठाकुरले २/२ विकेट लिए ।
वीरगन्जविरुद्ध एक सय एक रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मकवानपुर ५८ रनमै समेटिन पुग्यो । मकवानपुरका राम नरेश गिरीले ३३ र आस्तिक ढकालले १८ रन बनाउदा अन्य ब्याटरले दोहोरो संख्यामा रन जोड्न सकेनन् ।
प्रतियोगिता अन्तर्गत शनिबार समूह ‘ए’ को विजेता कलैया र समूह ‘बी’ को उपविजेता गौरबीच सेमिफाइनल प्रवेशका लागि खेल हुनेछ भने दोस्रो खेलमा समूह ‘बी’ को विजेता नेशनल इन्फोटेक र समूह ‘ए’ को उपविजेता मोतिहारीबीच खेल हुनेछ ।
प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । कलैया उपमहानगरपालिकाको सहयोगमा कलैया क्रिकेट क्लब र बारा जिल्ला क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।