फत्तेपुर बजारमा चल्यो जीतपुरसिमरा उपमहानगरको डोजर, अनधिकृत संरचना भत्काइयो


eShilalekh

५ जेष्ठ २०८१, शनिबार १६:०७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १२ स्थित फत्तेपुर बजारमा रहेको अनधिकृत संरचना शनिबार डोजर लगाएर भत्काइएको छ । उपमहानगरपालिकाको स्वामित्वमा पर्ने हाट बजारको उक्त जग्गा ओगटेर बनाइएका संरचनामाथि कार्यालयले डोजर चलाएको हो ।

साविकको फत्तेपुर गाविस ३ (क) को कित्ता नं. १७ को १८ कठ्ठा जग्गामा अव्यवस्थित र अनधिकृत तरिकाले बनेका २० वटा भन्दा बढी घरटहरा भत्काउन सुरु गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराबीच संरचना भत्काउन पुगेको उपमहानगर र वडाको टोलीले अवरोधको भने सामना गर्नुपरेन । उपमहानगरपालिकाले डोजर चलाउन थालेपछि उक्त घरटहरामा बस्दै आएका स्थानीय आफैले सामान सुरक्षित स्थानमा सारेका छन् भने केहीले आफै भत्काउन थालेका छन् ।

उक्त घरटहरामा केहीले बसोबास गरिरहेका थिए भने केहीले व्यापारव्यवसाय गरिरहेका थिए । घरटहरा भत्काउन दलबलसहित पुगेका नगर प्रमुख राजन पौडेलले अनधिकृत संरचना हटाउन सुरुमा केही समस्या भएपनि पछि सहज भएको बताए । स्थानीयले समेत घरटहरा हटाउन सकारात्मक भूमिका खेलेको नगर प्रमुख पौडेलले बताए ।

यसअघि अनधिकृत संरचना भत्काउने उपमहानगरपालिकाको निर्णयविरुद्ध उच्च अदालतमा रिट समेत परेको थियो । उक्त रिटमाथिको बहसपछि अदालतले हाट बजारको नाममा रहेका वर्तमान संरचना अनधिकृत रहेको ठहर गरेपछि उपमहानगरपालिकालाई डोजर चलाउन कानुनी बाटो खुलेको थियो ।

उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उक्त अनधिकृत संरचना हटाउनका लागि यसअघि पटकपटक छलफल समेत गरेका थिए । अव्यवस्थित र अनधिकृत संरचना हटाएर व्यवस्थित बजार निर्माण गर्ने उपमहानगरपालिकाको उदेश्य रहेको नगर उपप्रमुख अधिकारीको भनाई छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु खाँले हाट बजारको नाममा रहेको उक्त जग्गा खाली गरेर वडा कार्यालयको भवनसहित व्यवस्थित बजार निर्माण गरिने बताए । जग्गाको पश्चिमतर्फ वडा कार्यालय र पूर्वतर्फ व्यवस्थित बजार निर्माण गर्ने योजना रहेको वडाध्यक्ष खाँले बताएका छन् ।

घरटहरा भत्काउदा केही स्थानीयलाई असहज भएपनि अधिकांशको बसोबासको विकल्प रहेको बताइएको छ । असहज भएका स्थानीयलाई तत्कालका लागि वडा कार्यालयले व्यवस्थापन समेत खाँले बताए ।

फत्तेपुरमा डोजर चलाएको उपमहानगरपालिकाले साविकको डुमरवाना गाविस ४ हाल जीतपुरसिमरा उपमहानगरपालिका १५ भारती चोकदेखि दक्षिणतर्फ वडा नं। १३ जोड्ने बाटोमा बनेका घरटहरा हटाउन समेत दोस्रो पटक सूचना जारी गरेको छ । नाला निर्माण गर्नुपर्ने भएकाले उक्त बाटोमा पर्ने घरटहरा हटाउन उपमहानगरपालिकाले जेठ ३ गते १५ दिने सूचना निकालेको हो । यसअघि उपमहानगरपालिकाले चैत्र १० गते प्रथम पटक सूचना निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्