कलैया टी–२० मेयर कपः आयोजक कलैया क्रिकेट क्लब फाइनलमा
सिमराः आयोजक कलैया क्रिकेट क्लब ‘कलैया टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कलैयाले शनिबार गौर क्रिकेट क्लबलाई १५ रनले पराजित गरेको हो ।
समूह ‘ए’ को विजेता कलैयाले फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता गौरसंग प्रतिस्पर्धा गरेको हो । सिद्धेश्वर खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कलैयाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३० रन जोडेको थियो ।
कलैयाका लागि साहिल पटेलले ४३ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरे । यसैगरी कलैयाका निखिल सिंहले १९ र मेघराज महराले १८ रन बनाएका थिए । बलिङतर्फ गौरका अर्जुन बैठा र डब्लु मल्लिकले २/२ विकेट लिए ।
एक सय ३१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको गौरले २० ओभरमा ६ विकेट गुमाएर एक सय १५ रन मात्र बनाउन सक्यो । गौरका लागि बिजय यादव एक्लैले ६० रन बनाएपनि टिमको हार टार्न सकेनन् । बिजयले ६४ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । गौरका सन्नी साहले १४ रन बनाए ।
गौरलाई रोक्ने क्रममा कलैयाका बलर बसिर अहमदले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १२ रन मात्र खर्चिए । बसिर प्लेयर अफ दि म्याच घोषित भए । यसैगरी कलैयाका साहब आलमले दुई र कुमार थापाले एक विकेट लिए ।
कलैयाले अब उपाधी भिडन्तका लागि समूह ‘बी’ को विजेता नेशनल इन्फोटेक कलेल वीरगन्ज र समूह ‘ए’ को उपविजेता मोतिहारी क्रिकेट क्लबबीचको विजेतासंग खेल्नेछ । वीरगन्ज र मोतिहारीबीच खेल भईरहेको छ ।
प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजक क्लबका सुभाष जयसवालले जानकारी दिए ।