कलैया टी–२० मेयर कपः उपाधीका लागि कलैया र मोतिहारी भिड्ने


eShilalekh

५ जेष्ठ २०८१, शनिबार २१:२५

सिमराः भारत मोतिहारीको योङ ११ ले बाराको कलैयामा जारी ‘कलैया टी–२० मेयर कप’ क्रिकेट प्रतियोगिताको उपाधीका लागि आयोजक कलैया क्रिकेट क्लबसंग भिड्ने भएको छ । फाइनल प्रवेशका लागि भएको खेलमा नेशनल इन्फोटेक कलेज वीरगन्जलाई आठ विकेटले पराजित गर्दै मोतिहारीले कलैयासंगको भेट पक्का गरेको हो ।

सिद्धेश्वर खेल मैदानमा शनिबार भएको पहिलो खेलमा गौर क्रिकेट क्लबलाई १५ रनले पराजित गर्दै कलैया फाइनलमा प्रवेश गरिसकेको छ । कलैया समूह ‘ए’ को विजेता र गौर समूह ‘बी’ को उपविजेता हो । दोस्रो खेलमा ‘बी’ को विजेता वीरगन्जलाई पराजित गर्दै समूह ‘ए’ को उपविजेता मोतिहारी फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको वीरगन्जले १४.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ४० रन मात्र जोड्न सक्यो । उसका लागि रञ्जन यादवले ११ र सफवान अलिले १० रन बनाए । मोतिहारीका सकिबुल गनीले दुई ओभर बलिङ गर्दै चार विकेट लिए । उनले दुई ओभरमा एक मेडन दिएर एक रन खर्चिदै वीरगन्जका चार खेलाडीलाई पेभेलियन फर्काएका थिए ।

सकिबुल गनी भारतमा आयोजना हुने रणजी ट्रफी खेल्ने खेलाडी हुन् । बिहारबाट खेल्ने गरेका गनीले सन् २०२२ को रणजी ट्रफीको डेब्यु खेलमै तीन सय ४१ रन बनाएर रेकर्ड राखेका थिए ।

४१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मोतिहारीले पाँच ओभरमै जित हात पारेको थियो । मोतिहारीका लागि सुदर्शन कुमारले १३, आलोक यादव र अमन कुमारले समान ११/११ रन बनाए । चार विकेट लिएका गनी प्लेयर अफ दि म्याच घोषित भए ।

मोतिहारीले अब उपाधीका लागि आइतबार कलैयासंग भिड्नेछ । कलैया उपमहानगरपालिकाको सहयोगमा कलैया क्रिकेट क्लब र बारा जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको उपाधी विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्