भारतसंग जोडिएको बारा र पर्साको सीमा नाका आजदेखि तीन दिनका लागि बन्द
सिमराः भारतको बिहारमा हुन लागेको छैठौं चरणको लोकसभा निर्वाचनका लागि बारासंग जोडिएको नेपाल-भारत सीमा नाका बिहीबार बिहान ६ बजेदेखि बन्द गरिएको छ । विहारको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुन लागेको निर्वाचनका लागि सीमा नाका तीन दिनका लागि बन्द गरिएको हो ।
उक्त सीमा नाका जेठ १२ गते साँझ ६ बजेपछि खुल्नेछ । विहारमा हुने निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि ४८ घण्टा अगाडीदेखिनै बन्द गर्ने निर्णय वमोजिन नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले नाका बन्द हुने व्यहोरासहितको सार्वजनिक सूचना जेठ ६ गते जारी गरेको थियो ।
उता पर्सासंग जोडिएको भारतीय सीमा नाका पनि बन्द गरिएको छ । उक्त निर्वाचनका लागि पर्सा जिल्ला जोडिएको सबै सीमा नाका बन्द गरिएको हो । पर्सासंग जोडिएको नाका पनि जेठ १२ गते साँझ ६ बजे खुल्नेछ ।