पर्साको जगरनाथपुरमा गाडिएको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो, दुवै जना बाराको रहेको पुष्टि
सिमराः पर्साको जगरनाथपुरमा तीन दिन अघि गाडेको अवस्थामा मृत फेला परेका दुई जना बाराको रहेको खुलेको छ । नेपाल–भारत दशगजा क्षेत्रमा पर्ने जगरनाथपुर १ स्थित ओरिया खोलामा मंगलबार बिहान मृत भेटिएका दुवैको पहिचान खुलेको हो ।
मृत भेटिएका व्यक्ति कलैया उपमहानगरपालिका ६ का ६० वर्षीय रामएकवाल पंडित कुम्हाल र आर्दशकोतवाल गाउँपालिका ७ घर भई कलैया बस्दै आएका ४० वर्षीय ठाकुर लोहार रहेको पर्सा प्रहरीले जनाएको छ । उनिहरु मृत भेटिएको घटनाको अनुसन्धान भईरहेको समेत प्रहरीले जानकारी दिएको छ ।
खोलामा गाडिएको अवस्थामा भेटिएका उनिहरुलाई नारायणी अस्पतालमा शल्यपरीक्षण गरि प्रहरीले पहिचान खुलाउन अनुसन्धान गरिरहेको थियो । शल्यपरीक्षणको रिपोर्ट आउन बाँकी रहेको र उनिहरुलाई उक्त स्थलमा किन र कसले गाडेको भन्ने विषय नखुलेको प्रवक्ता दीपक भारतीले जानकारी दिए ।