सिमराको नव जनजागृति बन्यो बारा ‘च्याम्पियन’


eShilalekh

३१ जेष्ठ २०८१, बिहीबार २०:३०

सिमराः नव जनजागृति युवा क्लब सिमराले बारा जिल्ला फूटबल लिगको उपाधी उचालेको छ । कोल्हबीको मठवा मैदानमा बिहीबार भएको फाइनल खेलमा निजगढ युथ क्लबलाई सडन डेथमा पराजित गर्दै नव जनजागृति बारा जिल्ला ‘च्याम्पियन’ बनेको हो ।

प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा समेत ३–३ को बराबरी भएपछि नव जनजागृतिले सडन डेथमा जित निकालेको हो ।

उपाधीसंगै नव जनजागृतिले ५० हजार र उपविजेता निजगढले २५ हजार नगद प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नव जनजागृतिका कौशुव श्रेष्ठ घोषित भएका छन् । यसैगरी प्रतियोगिताको सर्वाधिक गोलकर्ता नव जनजागृतिका अन्जन बछार र उत्कृष्ट गोलरक्षक निजगढका जयाराम चौधरी घोषित भए ।

उपाधी विजेता तथा उपविजेता टिम र खेलाडीलाई अखिल नेपाल फूटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा, कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, मधेस प्रदेश फूटबल संघका अध्यक्ष नेपाल कार्की, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामालगायतले पुरस्कार वितरण गरेका थिए ।

बारा जिल्ला फूटबल संघको आयोजना र जनशक्ति युवा क्लबको व्यवस्थापनमा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा बाराको ए डिभिजनका १२ क्लबको सहभागिता रहेको थियो । एन्फाको कार्यक्रम अन्तर्गत आयोजना हुने जिल्ला लिग यसपटक चार वर्षपछि भएको हो ।

जिल्ला लिग विजेता नव जनजागृति क्लबले अब प्रदेश लिगमा सहभागिता जनाउनेछ । नव जनजागृति युवा क्लब सिमरामा आयोजना हुने जीतपुरसिमरा गोल्डकपको आयोजक हो ।

प्रतिक्रिया दिनुहोस्