सामाजिक सुरक्षा सेवा लिन मधेसका आठ जिल्लामा साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
सिमराः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले साउन १ गतेदेखि मधेस प्रदेशको सबै जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
विभागले सूचना जारी गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न मधेस प्रदेशका आठसहित २८ जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएको हुनुपर्ने व्यवस्था गरेको छ । मन्त्रीपरिषद्को २०८१ जेठ २४ गतेको बैठकले गरेको निर्णयका आधारमा पहिलो चरणमा २८ जिल्लामा यो प्रावधान लागू गर्न लागिएको विभागले जनाएको छ ।
विभागका अनुसार अब बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी सहित २८ जिल्लाका सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र हुनुपर्ने अनिवार्य व्यवस्था गरेको हो ।
विभागले सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकाले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिले आफ्नो वडा कार्यालयसँग सम्पर्क गर्न समेत सूचनामार्फत सूचित गरेकोे छ ।