विश्व रक्तदाता दिवसः लायन्स क्लब अफ सिमरा युथ र जीतपुरसिमरा वडा नं. १४ सम्मानित


eShilalekh

३२ जेष्ठ २०८१, शुक्रबार २१:५४

सिमराः विश्व रक्तदाता दिवसको अवसर पारेर ब्लड डोनर्स एसोसिएशनले लायन्स क्लब अफ सिमरा युथलाई सम्मान गरेको छ । रगतको अभाव भएको समयमा रक्तदान कार्यक्रम आयोजना गरेर महत्वपूर्ण सहयोग गरेको भन्दै एसोसियशनले क्लबलाई सम्मान गरेको हो ।

वीरगन्ज होटल मकालुमा आयोजित कार्यक्रमकाबीच क्लबलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा लायन्स क्लब सिमरा युथको वर्ष २०२२।२३ का अध्यक्ष एवम् वर्ष २०२४।२५ जोन चेयर पर्सन दिवाकर भण्डारी, क्लबको वर्ष २०२४।२५ का अध्यक्ष राजकुमार लामा, उपाध्यक्ष रविन उपाध्यायलगायत सहभागी थिए ।

वर्ष २०२३।२४ का अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा ८५ जनाले रगत दान गरेका थिए । एसोसियनले ५० भन्दा बढी दाताबाट रगत संकलन गर्न सफल संस्थालाई सम्मान गरेको थियो ।

यसैगरी आफ्नो वडाका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउनका नेतृत्वदायी भूमिका खेलेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ को कार्यालयलाई सम्मान गरेको छ । कार्यक्रममा वडाध्यक्ष चयन गुरुङलाई सम्मान गरिएको हो ।

गुरुङले आफ्नो वडाको वार्षिक बजेटबाट निःशुल्क रगत जाँच र रगत सेवा प्राप्त गर्ने गरी रक्तसंचार केन्द्रसंग सम्झौता गरेकी थिईन् । उक्त सम्झौतापछि वडाका केही नागरिकले निःशुल्क रगतको सुविधा लिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल पिलुवास्थित गण, सूर्य नेपालस्थित मजदुर युनियन, राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं. १ को कमिटी, केयर्स एजुकेयर सिमरासहित रक्तदान आयोजना गर्ने र रगतको सेवा सहज बनाउन भूमिका खेल्ने संस्था तथा कार्यालय, आकस्मिक रगत दान गर्ने विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरेको थियो ।

सम्मानित व्यक्ति र संस्थालाई प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जयसवाल, पर्साका प्रहरी प्रमुख कुमोद ढुंगेल, बहुदरमाई गाँउपालिकाकी उपाध्यक्ष सुष्माकुमारी कुशवाहा, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कंडेललगायतले सम्मानपत्र वितरण गरेका थिए । एसोसिएशनका अध्यक्ष शत्रुघन नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अरविन्द सिंहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्