‘एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष’ को पहिलो चरणको प्रशिक्षण आज सम्पन्न


eShilalekh

२ असार २०८१, आईतवार २०:०८

सिमराः सिमरामा संचालित ‘एएफसी सी लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष’ को पहिलो चरणको प्रशिक्षण आइतबार साँझ सम्पन्न भएको छ । फूटवल क्षेत्रमा दक्ष प्रशिक्षक उत्पादन गर्ने उदेश्यसहित गत सोमबार सुरु भएको पहिलो चरणको एक हप्ते प्रशिक्षण सम्पन्न भएको हो ।

पहिलो चरणको प्रशिक्षण कार्यक्रमलाई सोमबार बिहान औपचारिक कार्यक्रम गरेर समापन गर्ने तयारी आयोजक बारा जिल्ला फूटबल संघले गरेको छ । एशीयाली फूटवल महासंघ (एएफसी) को प्राविधिक सहयोगमा भएको उक्त कोर्ष अन्तर्गत पहिलो चरणमा सात दिन र दोस्रो चरणमा पाँच दिन प्रशिक्षण हुनेछ ।

दोस्रो चरणको प्रशिक्षण अब १५ दिनपछि हुनेछ । उक्त समयसम्म प्रशिक्षणका सहभागीले एक हप्तासम्म सिकेका विषयमा केन्द्रीत रहेर गृहकार्य गर्नुपर्नेछ । दोस्रो चरणको पाँच दिने प्रशिक्षणपछि सहभागीले प्राविधिक र फिजिकल फिटनेसमा उतिर्ण हुनुपर्नेछ। उतिर्ण भएकाले मात्रै एएफसीबाट मान्यताप्राप्त सी वर्गको फूटवल प्रशिक्षकको लाइसेन्स पाउनेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रशिक्षणमा मधेस प्रदेशका २३ र बागमती प्रदेशका एक गरी २४ जना सहभागी छन् । उनिहरुलाई नेपालका लागि एशीयाली फूटवल महासंघ (एएफसी) को टेक्निकल अफ एजुकेशन डिपार्टमेन्ट प्रमुख सञ्जित सिंह र एन्फाका प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

सिंहको उपस्थितीमा भएको उक्त प्रशिक्षणलाई एएफसीले मान्यता दिएको छ । बारा जिल्ला फूटबल संघको अनुरोधपछि सिंहको पहलमा प्रशिक्षण कार्यक्रम तय भएको हो । सहभागीले प्रशिक्षण कार्यक्रम अत्यन्तै उपलब्धिमुलक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्