मधेस प्रदेशलगायत बाँकी भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


eShilalekh

५ असार २०८१, बुधबार १५:१३

सिमराः हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशलगायत बाँकी भेगका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशीका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भेगका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना छ ।

विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्