जीतपुरसिमराः छलफल गरेर मात्रै नगरसभा आयोजना गर्न कार्यपालिका सदस्यद्धारा नगर प्रमुखलाई ध्यानाकर्षण


eShilalekh

५ असार २०८१, बुधबार २३:१९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकांश कार्यपालिका सदस्यले नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल गर्न बाँकी रहेको भन्दै १०औं नगरसभाको बैठक थप छलफलपछि मात्रै आयोजना गर्न नगर प्रमुख राजन पौडेललाई आग्रह गरेका छन् ।

जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा असार ६ गते बिहान ११ बजेका लागि बोलाइएको नगरसभाको सन्दर्भमा बुधबार कार्यालयमा बसेको आकस्मिक कार्यपालिका बैठकमा अधिकांश सदस्यले छलफलपछि मात्रै नगरसभा आयोजना गर्न नगर प्रमुख पौडेललाई आग्रह गरेका हुन् ।

असार २ गते र ५ गते बसेको कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा निर्णय हुन नसकेको उल्लेख गर्दै कार्यपालिका सदस्यले छलफल गरेर मात्रै नगरसभाको मिति, समय र स्थान तोक्न नगर प्रमुख पौडेललाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । उक्त ध्यानाकर्षण पत्रमा नेकपा एमालेका १६, नेपाली कांग्रेसका पाँच, नेकपा माओवादी केन्द्रका दुई, नेकपा एकीकृत समाजवादीका एक र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एक गरी २५ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यले हस्ताक्षर गरेका छन् ।

आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्ताव हुने नीति तथा कार्यक्रम र बजेटका विषयमा कार्यपालिका बैठक र विषयगत समितिमा छलफल गर्न बाँकी रहेकाले छलफलपछि मात्रै नगरसभा आयोजना गर्न ध्यानाकर्षण गरिएको वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए । उपमहानगरपालिकाको २४ वटै वडाको वडाध्यक्ष तथा कार्यपालिका सदस्य र विषयगत समितिको रायमा नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबैले अपनत्व लिने श्रेष्ठको भनाई थियो ।

श्रेष्ठका अनुसार कार्यपालिकाका अधिकांश सदस्यले छलफल गरेर सबैको सहमतिमा अर्को मिति तोकेर नगरसभा गर्नुपर्ने धारणा राखेका थिए । निर्णयमा नपुगी उठेको कार्यपालिकाको बैठक बिहीबार बिहान ९ बजेका लागि पुनः बोलाइएको छ ।

यता उपमहानगरपालिकाको कार्यालय भने नगरसभाको तयारीमा छ । उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले सूचना जारी गरेर बिहान ११ बजेको नगरसभामा उपस्थित हुन संचारकर्मीलाई आमन्त्रण गरेकी छिन् । यसअघि उनले जेष्ठ ३२ गते १०औं नगरसभामा उपस्थित हुन नगरसभा सदस्यलाई आमन्त्रण गरेकी थिईन् ।

उपमहानगरपालिकाका नगर प्रमुख पौडेल पनि तोकिएको समयमै नगरसभा आयोजना गर्नुपर्ने अडानमा छन् । पौडेलले संविधान र नगरसभा संचालन ऐनले निर्देश गरेवमोजिम तय भएको नगरसभा पूर्वनिर्धारित समय अनुसारनै हुने बताए । कार्यपालिका सदस्यले बुझाएको ध्यानाकर्षण पत्रलाई समयमै गर्न लागिएको नगरसभा रोक्ने प्रयासका रुपमा आफूले बुझेको नगर प्रमुख पौडेलको भनाई छ । पौडेलले अन्तिम समयमा आएर नीति तथा कार्यक्रम र बजेट रोक्ने काम नगर्न आग्रह गरेका छन् । नगरसभामा नगर प्रमुखले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।

यता उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी भने छलफल र सहमतिबाट सबैले अपनत्व गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउदा सहज हुने बताउँछन् । कार्यपालिकाका अधिकांश सदस्यहरु नीति तथा कार्यक्रम र बजेटका विषयमा अनविज्ञ रहेको अवस्थामा नगरसभा आयोजना गर्दा सकारात्मक सन्देश नजाने अधिकारीको तर्क छ । नगरसभामा प्रस्तुत गर्ने बजेट समेत तयारी हुन नसकेको अधिकारीले बताए । नगरसभामा उपप्रमुखले बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्