अमेरिकाको टेक्सासमा नेपाली समुदायका बालबालिकाका लागि ग्रासरुट फूटबल प्रशिक्षण सुरु


eShilalekh

६ असार २०८१, बिहीबार २१:१७

रामप्रसाद अधिकारी

टेक्सास (अमेरिका): साना उमेरका बालबालिकालाई लक्षित गर्दै अमेरिकाको टेक्सासस्थित अर्भिङमा एक महिने लामो ग्रासरुट फूटबल प्रशिक्षण सुरु भएको छ । नेपाली समुदायका चार वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर किड्स समर क्याम्प सुरु भएको हो ।

नेपाली समाज टेक्सासले रुम्बा एकेडेमी र डीएफडब्ल्यू हिमालयसंग सहकार्य गरी आयोजना गरेको प्रशिक्षणमा १६ जना बालबालिका सहभागी छन् । बालबालिकालाई प्रशिक्षक सञ्जय रुम्बा तामाङले प्रशिक्षण गराउनेछन् । तामाङ युएसएस नेशनल डी लाइसेन्स (२०२३) र युएसएस ग्रासरूट लाइसेन्सका साथै सेमी-प्रोफेसनल खेल अनुभवी हुन् ।

सानै उमेरदेखि फूटबलप्रति आकर्षित गर्न बालबालिकालाई लक्षित गरेर क्याम्पको आयोजना गरिएको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिए । समाजले यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको र त्यसैलाई निरन्तरता दिने क्रममा यसपटक साना बालबालिकाका लागि कार्यक्रम ल्याएको बताए ।

नेपाली समाज टेक्सासका खेलकुद संयोजक निलेश श्रेष्ठले क्याम्पमा फूटबलको आधारभूत जानकारी, अभ्यास र खेल अनुशासनका विषयमा प्रशिक्षण दिईने जानकारी दिए । उनका अनुसार साताको आइतबार र मंगलबार प्रशिक्षण हुनेछ ।

अमेरिकामा जन्मिएर हुर्किएका साना बालबालिकाका साथै अभिभावकलाई समेत एकै ठाउँमा उभ्याउन र आपसी सद्भाव बढाउन कार्यक्रमले मद्यत पुग्ने समाजका अध्यक्ष वाग्लेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्